हेटौंडा,८ भदौः स्थानीय तहमा रहेको संरचनाबारे प्रचार प्रसारको कमी भएको आज हेटौंडामा आयोजित बैठकका सहभागीहरुले बताएका छन् । स्थानीय तहमा बनेका संरचना र तिनीहरुका कामबारे नागरिकहरुमा स्पष्ट जानकारी नहुँदा सेवाग्राही अझै पनि मुद्दाहरु लिएर जिल्ला सदरमुकाम हेटौंडा आउने गरेका बैठकका सहभागीहरुले बताएका हुन् ।
बैठकमा आफ्नो अनुभव राख्दै माइती नेपालकी मकवानपुर जिल्ला कार्यक्रम संयोजक माया लामाले मुद्दामा हुने राजनीतिका कारण स्थानीय स्तरबाट न्याय पाउनेमा नागरिकमा कम विश्वास रहेको बतााइन् । आफू आबद्ध संस्थामा अहिले पनि जिल्लाका विभिन्न स्थानीय तहहरुबाट मुद्दाहरु आउने गरेको भन्दै उनले स्थानीय तहमा न्यायिक समिति बनेर त्यही काम भइरहँदा पनि मुद्दाहरु जिल्ला सदरमुकाममा आउने क्रम नरोकिएको बताइन् ।
बैठकमा आफ्नो अनुभव सुनाउँदै हेटौंडा उपमहानगरपालिकाका सामाजिक सामाजिक विकास शाखा प्रमुख भिमप्रसाद तिमल्सिनाले केही सेवाग्राहीहरु सामान्य मुद्दा लिएर पनि हेटौंडा आएको आफूले पाएको बताए । स्थानीय तहमै समाधान हुने मुद्दा बोकेर धेरै खर्च गरी सेवाग्राही हेटौंडा आइपुगेको भन्दै उनले नयाँ संरचनाबारे नागरिकमा प्रचारप्रसार गर्न जरुरी रहेको बताएका हुन् । मेलमिलापका लागि आउने अधिकांश मुद्दा जग्गा र लेनदेनको रहेको उनको भनाई छ ।
बैठकमा शिविन नेपालका मकवानपुर जिल्ला कार्यक्रम संयोजक झविन्द्र ज्ञवालीले आफू आबद्ध संस्थाले काम गरेको क्षेत्रमा बाल विवाह बिरुद्ध भएका प्रयास तथा सफलताको कथा सुनाएका थिए । बैठकमा नारी सीप सृजना केन्द्रका कार्यकारी निर्देशक चिरन्जीवि पौडेल, मकवानपुर महिला समूहका अध्यक्ष कमला सुवेदी, अस्मिता नेपालकी आरती पाठक लगायतले काम गर्ने दौरानमा देखिएका समस्या, आफ्नो अनुभव सुनाएका थिए ।
बैठकलाई सम्बोधन गर्दै हेटौंडा उपमहानगरपालिकाका उपमेयर तथा न्यायिक समिति संयोजक मिना ”लामाले भान्छा नै औषधालय”, ”बाल बिबाहमुक्त अभियान”, लगायत नगरपालिकाको कार्यक्रमहरुबारे जानकारी गराइन् । उपमेयर लामाले नगरमा रहेका सबै गैर सरकारी संस्थाहरुसँग छलफल गर्ने गरी उपमहानगरपालिकाले बैठकको तयारी गरिरहेको पनि बताइन् ।
मकवानपुर महिला समूह र एक्सन एड् नेपालको सहकार्यमा समुन्नती परियोजना अन्तर्गत जिल्ला स्तरका सरोकारवालाहरुसँग प्रेषण प्रणाली (रेफरल मेकानिजम) सम्बन्धी बैठक भएको हो । महिला हिंसा लगायत विभिन्न मुद्दाहरुमा पीडित पक्षले न्याय पाउने सहज वातावरण सृजना गर्ने उद्देश्यले यस सम्बन्धी सरोकारवालाहरुसँग छलफलका लागि बैठक सञ्चालन गरिएको मकवानपुर महिला समूहकी कार्यक्रम संयोजक निशा लामाले बताइन् । बैठकमा जिल्लास्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु सहभागी भएका थिए ।