हेटौंडाः खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले आफ्नो वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । आज हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा दुग्धजन्य उत्पादनमा बढी समस्या देखिएको जानकारी गराइएको हो ।
प्रतिवेदन प्रस्तुत गर्दै कार्यालयकी अनुसन्धान अधिकृत सिर्जना महर्जनले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले आर्थिक वर्ष २०७५÷७६ मा हेटौंडाका ४ सय ६५ स्थानमा अनुगमन गरेको जानकारी दिइन् । जसमध्ये सबैभन्दा बढी दुग्धजन्य पदार्थमा समस्या देखिएको र केही मात्रामा पानीमा पनि समस्या देखिएको थियो । कार्यालयमा गत आ.व मा ७९ वटा मुद्दा परेको पनि अधिकृत महर्जनले जानकारी दिइन् ।
त्यसैगरी यस क्षेत्रका होटलहरुको पनि गुणस्तरका आधारमा वर्गीकरण गरिएको र ‘क’ वर्गमा कुनैपनि होटल पर्न नसकेको प्रतिवेदनमा उल्लेख थियो । ‘ख’ र ‘ग’ मा क्रमशः १९ र १७ वटा होटल परेको प्रतिवेदनमा उल्लेख गरिएको छ । पत्रकार सम्मेलनमा कार्यालय प्रमुख सोमकान्त रिजालले पत्रकारहरुको जिज्ञासामाथि स्पष्ट पारेका थिए ।