हेटौंडा,२५ साउनः प्रगतिशील लेखक संघ, मकवानपुरको आयोजनामा आज हेटौंडामा माक्र्सवादी दर्शन र साहित्य लेखनबारे अन्तरक्रिया कार्यक्रम भएको छ ।

कार्यक्रमको प्रमुख वक्ता रहेका नेकपाका केन्द्रीय सदस्य केदार न्यौपानेले माक्र्सवादी दर्शन र साहित्य लेखनमा माक्र्सवादी दर्शनको महत्वबारे स्पष्ट पारेका छन् । जसले सिद्धान्तको मूल्यांकन गर्छ, त्यो नै सफल हुन्छ भन्दै केन्द्रीय सदस्य न्यौपानेले आगामी दिनमा भावी योजना निर्धारण गर्दै सिद्धान्तलाई जोड दिई साहित्य सृजनामा लाग्नुपर्ने बताएका हुन् ।

कार्यक्रममा माक्र्सवादले देखाएको बाटोमा हिँड्न सकेमा श्रमजीवि वर्गको हित हुने हुने श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानका अध्यक्ष एवम् संघका सल्लाहकार कौशल पाण्डेले बताएका छन् । त्यसैगरी साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिलले आस्था राखेर लेखिने लेखलाई बदल्न जरुरी रहेको बताउँदै भावी पिढीलाई प्रेरणा मिल्ने खालको लेख लेख्न जरुरी रहेको बताए ।

कार्यक्रममा साहित्यस संगम मकवानपुरका निवर्तमान अध्यक्ष सुवाश खनाल, प्रलेसका निवर्तमान अध्यक्ष पुरुषोत्तम आचार्य, आँचल साहित्य कला पुञ्जकी उपाध्यक्ष अनिता न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए । साधारण मानिसले बुझ्ने भाषामा आफ्ना लेखनमार्फत माक्र्सवाद घर घरमा पुर्याउन प्रगतिशील लेखकहरु लाग्नुपर्ने वक्ताहरुको जोड थियो । कार्यक्रममा संघका उपाध्यक्ष नानीमैया विष्टले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

कार्यक्रममा बोल्दै प्रलेसका अध्यक्ष शान्तिप्रिय बन्दनाले संघले गर्ने काम, कर्तव्य पूरा गर्न पछि पर्न नहुने भन्दै अहिलेसम्म भएका कमी कमजोरीहरुलाई सुधारका साथ अघि बढ्ने बताएकी छन् । प्रगतिशील लेखक संघको आयोजनामा सञ्चालित कार्यक्रममा एन.एस.टि.भी. मिडिया पार्टनर रहेको थियो । कार्यक्रममा संघकी अध्यक्ष शान्तिप्रिय बन्दनाको सभाध्यक्षता तथा नेकपा केन्द्रीय सदस्य केदार न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।