हेटौंडाः मकवानपुरको पूर्वी क्षेत्रमा रहेको बकैया गाउँपालिका–४, निवासी एकजना सुन्न तथा बोल्न नसक्ने व्यक्तिको पिसाव थैलिमा एक मिटरभन्दा लामो विजुलीको तार फेला परेको छ ।
सुन्दै अचम्म लाग्ने यस्तो घटना हालै मकवानपुरमा सार्वजनिक भएको हो ।
बकैयाको जुरेली निवासी ५० वर्षीय कान नसुन्ने र बोल्न नसक्ने कृष्णबहादुर फुयाँलको पिसाब थैलीमा १ सय बीस सेन्टिमिटर लामो विजुलीको तामाको तार भेटिएको छ । विगत १० महिनाबाट पिसाव थैलिको समस्यामा परेको उनको थप उपचारको लागि चितवनको भरतपुरस्थित एक मेडिकल लगेपछि उनको पिसाव थैलिमा यति लामो तार भेटिएपछि डाक्टरहरु नै चकित परे । मानिसको पिसाव थैलिमा १ सय २० सेन्टीमिटरको विजुलीको तार कसरी छिर्यो भन्ने विषयले डाक्टरहरुलाई निकै आश्चार्यमा त पार्यो नै, उनका परिवारका सदस्यहरु पनि चकित भए ।
उनको पिसाब थैलीमा पाइएको तार यस्तो छः
पिसाव बन्द भएपछि पत्थरीको आशंकामा उपचार गर्न पुगेका उनको पिसाव थैलिमा तार भएको पाईएपछि परिवारका सदस्यहरु समेत सशंकित भएका छन् । बोल्न र कान सुन्न नसक्ने फुयाँल विगत १० महिनादेखि लगातार बिरामी परेका थिए । करिब २ महिना अघि परिवारका सदस्यले उनको उपचारका लागि हेटौंडा जिल्ला अस्पताल लगेका थिए । अस्पतालले उनलाई पिसाब थैलीमा पत्थरी रहेको भन्दै अप्रेशन गर्नुपर्ने भन्दै तत्काल औषधि सेवन गर्न लगाइयो । तर, करिब एक महिनासम्ममा पनि औषधिले बीसको उन्नाइस भएन, बरु अचानक पिसाब आउनै बन्द भयो ।
करिब १० महिनाअघि नाकमा फुली लगाउने महिलाको समूहले आफूलाई बेहोस् बनाएको र केही थाहा नभएको इशारा मार्फत उनले बताएका छन् । फुयाँललाई १० महिनाअघि बेहोस बनाएर उनको गोप्य अङ्ग (लिङ्ग)बाट सो बिजुलीको तार पसाइएको शंका गरिएको छ ।
केही दिनअघि मात्रै उनलाई चितवन भरतपुरको शान्ति अस्पतालमा लगेपछि बिरामी फुयाँलको पिसाब थैलीमा बिजुलीको तार रहेको पत्ता लाग्यो । डाक्टरको सल्लाह अनुसार तुरुन्तै अप्रेशन गरियो र उनको पिसाब थैलीबाट १ मिटर २० सेन्टिमिटर लामो विजुलीको तार निकालिएको छ । डाक्टरका अनुसार विजुलीको तार खानपान वा अन्य कारणले नभई बाहिरबाट पसाइएको हुनसक्ने बताएका छन् ।