jL/uGh 8'afgdf rf/ lbgb]vLsf] jiff{sf sf/0f jL/uGhsf] /fw]dfO6f]n, >Lk'/ gofF al:t;lxt 8'afgdf . tl:a/ M lahos'df/ dxtf], k;f{, /f;;


-रोहित महतो

पछिल्लोपटक अविरल वर्षासँगै आएको बाढी तथा डुबानले प्रदेश २ मा बालीनाली र पशुपंक्षीमा मात्र २ अर्ब ६६ करोडको क्षति भएको छ। यस प्रदेशमा भएको क्षति एक आर्थिक वर्षमा कृषि क्षेत्रका लागि विनियोजन गरिने बजेटबराबर हो। बाढीले सबैभन्दा बढी जनधनको क्षति यही प्रदेशमा भएको छ।

बालीनालीतर्फ मात्र १ अर्ब ५५ करोड र पशुपंक्षीतर्फ १ अर्ब ११ करोडको क्षति भएको प्रदेश २ भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । बालीनालीतर्फ धान, मकै, तरकारी, केरा लगायतका बाली क्षति भएको छ भने पशुपंक्षीतर्फ भैँसी, गाई, कुखुरा, बाख्रा, माछा लगायतको क्षति भएको मन्त्रालयका सूचना अधिकारी अभिनाश झाले बताए।

बाढी तथा डुबानका कारण प्रदेशका ८ वटै जिल्ला गरी बालीतर्फ ५५ हजार ६ सय २० हेक्टर जग्गामा क्षति भएको मन्त्रालयको तथ्यांक छ। मलखाद अभाव र समयमा वर्षा नभएपछि केही क्षेत्रमा आकाशे पानीको भरमा किसानले खेती गरेका थिए भने केही क्षेत्रमा इनार र बोरिङबाट सिँचाई गरी रोपाइँ गरेका थिए। प्रदेशमा वर्षा आउनुपुर्व कुल धान खेतीको करिब एक चौथाई जग्गामा मात्र धान रोपाइँ भएको थियो। जसमध्ये ४१ हजार ५ सय ६९ हेक्टर जग्गाको धान खेती नष्ट भएको छ ।

यस्तै पशुपंक्षीतर्फ १ हजार ९ सय ८७ हेक्टरमा माछा पालन गरिएको पोखरीमा क्षति भएको छ। मन्त्रालयका अनुसार पशुपंक्षीतर्फ सबैभन्दा बढी सप्तरी र सिरहामा क्षति भएको छ। यी दुइ जिल्लामा मात्र पशुपंक्षी र माछामा कुल ९७ करोड ३ लाख बराबरको क्षति भएको छ। पशुपंक्षीतर्फ रौतहटमा ५ करोड, बारा र पर्सामा २ करोड ४३ लाख २५ हजार र धनुषामा १ करोड बराबरको क्षति भएको सूचना अधिकारी झाले बताए।

यस्तै बाढी तथा डुबानबाट सबैभन्दा बढी प्रभावित भएको रौतहटमा बालीनालीतर्फ समेत सबैभन्दा बढी क्षति भएको छ । रौतहटमा १९ हजार ४ सय ६५ क्षेत्रफल जग्गामा ३५ करोड बराबरको क्षति भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । सर्लाहीमा ९ हजार ३ सय ५२ हेक्टर क्षेफलमा रहेको धान ब्याड, वर्षे धान, चैते धान, तरकारीबाली, मकैबाली लगायतका बाली गरी २५ करोड बराबरको क्षति भएको छ। यस्तै पर्सामा २४ करोड ३३ लाख, बारामा १९ करोड ७० लाख, सप्तरीमा १९ करोड २५ लाख, धनुषामा १६ करोड ३५ लाख ५४ हजार, महोत्तरीमा १२ करोड र सिरहामा ३ करोड ८५ लाख बराबरको क्षति भएको छ ।

नेपालको कुल गार्हस्थ उत्पादनमा करिब ६० प्रतिशत योगदान रहेको कृषि क्षेत्रमा पछिल्लो बाढीबाट अपुरणीय क्षति भएको जनकपुरका अर्थशास्त्री डा। वरुणलाल कर्णको भनाइ छ । ‘प्रदेशको मात्र होइन विपदले मुलुककै अर्थतन्त्रमा ठूलो धक्का पुगेको छ । आगामी दिनमा प्रदेशको कुल गार्हस्थ उत्पादनमा धेरैले कमी आउँछ,’ उनले भने। कृषिमा भएको क्षतिले आगामी दिनमा मुलुकबाट निर्यात कम भइ आयात बढने हुँदा महँगी पनि आकाशिने उनको दावी छ ।

क्षतिको पीडा खेपिरहेका किसानलाई तत्काल एकदमै न्यून ब्याजदरमा ऋण उपलब्ध गराई दीर्घकालिन उपायतर्फ लाग्नुपर्ने अर्थशास्त्री कर्णले बताए।

के छ प्रदेश सरकारको योजना?

भूमिव्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले प्राकृतिक विपदबाट भएको क्षतिले प्रदेश २ आर्थिक संकटमा पर्ने सम्भावना रहेको बताउँदै विपद व्यवस्थापनका लािग दीर्घकालीन उपायतर्फ अग्रसर रहेको बताए । उनले वर्षापछि आएको बाढीबाट प्रभावितका लागि प्रदेश सरकारले तीन चरणमा काम गरिरहेको जनाए। राहत र उद्धारका लािग तथ्याङक संकलन कार्य सम्पन्न भइसकेको बताउँदै उनले अन्तिम चरणमा पुनर्निर्माणतर्फ सरकार अघि बढिरहेको बताए। संघीय सरकारबाट प्रदेश सरकारले अनुदान रकम प्राप्त गरिसकेपछि किसानका लागि राहत वितरण सुरु गरिने बताए ।

‘अर्थतन्त्रको मुख्य पाटो कृषिमा अतुलनीय क्षति भएको छ । प्रदेशको अर्थतन्त्रमा कृषिको करिब २१ प्रतिशत योगदान छ,’ उनले भने, ‘प्रदेशको आर्थिक मेरुदण्ड कृषिको कम्मर नै टुटिसकेको छ । संघीय सरकारबाट प्राप्त हुने रकमबाट करिब ७५ प्रतिशत रकम कृषि क्षेत्रमा खर्च गर्नेछौं ।’

आर्थिक संकट रोक्न कृषिमा नयाँ तरिकाले व्यवस्थापन आवश्यक रहेकाले यसकालागि गृहकार्य भइरहेको राज्यमन्त्री यादवले बताए ।

नेपाल न्युज डट कमबाट