हेटौंडा,२१ साउनः जिल्ला प्रहरी कार्यालय मकवानपुरले पसलबाट सामान तथा रकम चोरी गरेको आरोपमा मकवानपुरगढीका एक युवकलाई पक्राउ गरेको छ । मकवानपुरगढी गाउँपालिका–३, बस्ने ३१ वर्षीय श्याम थापा मगरलाई प्रहरीले हेटौंडा–१०, बसपार्कबाट हिजो पक्राउ गरेको हो ।

उनको साथबाट चोरी भएको रकम १८ हजार ८४५ रुपैयाँ र १ थान ब्लुतुथ समेत फेला पारिएको प्रहरीले जनाएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा–२ कान्तिराजपथमा हरी प्रसाद खतिवडाले संचालन गरेको एच पि सप्लायर्सबाट साउन १९ गते राती ११ बजेतिर नगद र सामान चोरी भएको भनी सञ्चालकले प्रहरीलाई जानकारी गराएका थिए ।

प्राप्त सूचनाको आधारमा चोरी गर्ने मानिसको खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले जिल्ला हिजो उनलाई पक्राउ गरेको हो । उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाही भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता यज्ञ प्रसाद भट्टराईले जानकारी दिए ।