हेटौंडा,२१ साउनः हेटौंडाबाट छोटो दुरीमा काठमाडौं पुग्ने सडकखण्ड बन्द गर्ने चेतावनी इन्द्रसरोबर मिनी ट्रक ब्यवसायी संघले दिएको छ । छोटो बाटोहरु सिस्नेरी तथा फाखेल हुँदै हेटौंडाबाट काठमाडौं जाने सो सडकलाई भोलीदेखि बन्द गर्ने चेतावनी संघले दिएको हो ।
सो सडकखण्डमा मिनी ट्रक चलाउन प्रतिवन्ध लगाएसँगै मिनी ट्रक ब्यवसायी आन्दोलित भएका हुन् । इन्द्रसरोबर तथा फाखेलमा उत्पादन भएको तरकारी बोक्ने मिनी ट्रकलाई भीमफेदीस्थित प्रहरीले उक्त बाटोमा प्रवेशको रोक लगाएपछि व्यवसायीहरु आन्दोलित भएका छन् । गएको तीन हप्ताबाट मिनी ट्रकलाई रोक लगाईएपछि उनीहरुले अन्तिम विकल्पको रुपमा हेटौंडा काठमाडौं छोटो बाटो बन्द गर्ने गरी आन्दोलनको तयारी थालेको स्थानीयले जनाएका छन् ।
उपयुक्त कारणविना व्यवसायीललाई मार पार्ने काम गरेको, मिनी ट्रक रोकिँदा स्थानीय स्तरमा उत्पादन भएको तरकारी बोक्न समस्या भएको स्थानीयको भनाई छ । उनीहरुले भोली बुधबारबाट आन्दोलनको तयारी गरेपनि स्थानीय प्रशासनले चासो नदिएपछि उक्त रुट भएर चल्ने हजारौं सवारी भोली साउन २२ गतेबाट बन्द हुने अवस्था देखिएको छ ।
मिनी ट्रक नचल्दा स्थानीयले यातायातको सुविधा नपाउन र धेरै समस्या झेल्नुपर्ने व्यवसायी तथा स्थानीयको आवाज छ । सुमो लगायतका साधनमा हेटौंडादेखि काठमाडौंका यात्रुलाई मात्र टिकट दिइने, सामन ढुवानी नगरिदिने र त्यहाँ उत्पादित सामग्री ओसारपसार गर्न नसकिने उनीहरुको भनाई छ ।