पुरस्कार हस्तान्तरण तथा ग्रहण गरिँदै

हेटौंडाः आर्थिक वर्ष २०७५÷७६ मा उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै मनहरीका सामुदायिक वन तथा कबुलियती वन समूहहरुलाई पुरस्कृत गरिएको छ । राप्ती डिभिजन वन कार्यालय मनहरी अन्तर्गतका उत्कृष्ट कार्यसम्पादन गर्ने वन समूहहरुलाई एक कार्यक्रमबीच सम्मानित गरिएको मनहरीबाट जयराम मुक्तानले जानकारी गराएका छन् ।

कार्यक्रममा ३÷३ वटा सामुदायिक वन र कवुलियती वन गरी ६ वटा वन समूह पुरस्कृत भएका हुन् । गत आर्थिक वर्षमा सामुदायिक वनतर्फ उत्कृष्ट कार्य गरेकोमा भर्याङकाली सामुदायिक वन उपभोक्त समुह राक्सीराङ–३ प्रथम, हरियाली सामुदायिक वन उपभोक्त समुह मनहरी–९ द्वितीय र चौतारा सामुदायिक वन उपभोक्त समूह हटौंडा–१९ तृतीय भएका हुन् ।

प्रथम, द्वितीय र तृतीय हुन सफल वन समुहले क्रमशः ९ हजार, ६ हजार र ४ हजार रुपैयाँ नगद तथा प्रमाण पत्र प्राप्त गर्न सफल भएका छन् । त्यसैगरी कवुलियती वनतर्फ साउनेभीर पाखा कवुलियती वन थाहा–१२ प्रथम, खवासी कवुलियती वन राक्सीराङ–५ द्वितीय र पोखरी डाँडा कवुलियती वन इन्द्र सरोबर तृतीय हुन सफल भयो ।

प्रथम, द्वितीय र तृतीय हुन सफल कवुलियती वन समूहले क्रमशः नगद ८ हजार, ६ हजार र ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् । राप्ती डिभिजन वन कार्यालय मनहरीका प्रमुख दीर्घ नारायण भण्डारीको सभाध्यक्षतमा कार्यक्रम भएको हो । कार्यक्रममा सो क्षेत्रका सरोकारवाला तथा स्थानीयको सहभागिता रहेको थियो ।