Photo/Google

हेटौंडा,१९ साउनः जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाका दुर्गम तथा ग्रामीण क्षेत्रमा बसोबास गर्ने ४ हजार ३७३ व्यक्तिहरुलाई उनीहरुको पायक पर्ने ठाउँमा पुगेर नागरिकता प्रदान गरेको छ । कार्यालयको घरदैलो सेवा अन्तर्गत एक वर्षभित्रमा सञ्चालित घुम्ती शिविर मार्फत सो परिमाणमा नागरिकता प्रदान गरिएको हो ।

स्थानीय तह तथा स्थानीय प्रशासनको सहकार्यमा नागरिकता शिविर मार्फत महिला, बालबालिका, बृद्धबृद्धा अशक्त, आर्थिक रुपमा विपन्न तथा पछाडि पारिएका समुदायलाई नागरिकता प्रदान गरिएको प्रशासनले जनाएको छ ।

कार्यालयबाट प्राप्त तथ्याङ्क अनुसार सेवा लिनेमा पुरुषभन्दा महिलाहरुको संख्या बढी छ । शिविरमा २ हजार ७२१ जना महिला र १ हजार ६५२ जना पुरुषले नागरिकता लिएका हुन् । आर्थिक वर्ष २०७५/७६ मा विभिन्न ग्रामीण तथा दुर्गम क्षेत्रमा १२ पटक शिविर गरी नागरिकता वितरण गरिएको सो कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले गत आर्थिक वर्षमा १६ हजार ६ सय ५९ वटा नयाँ नागरिकता वितरण गरेको तथ्यांक छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्का अनुसार जिल्ला प्रशासन कार्यालयले एक वर्षको अवधिमा वंशजका आधारमा १६ हजार ६१३ जनालाई नयाँ नागरिकता वितरण गरेको हो । जसमध्ये पुरुष ७ हजार १९ जना र महिलाहरु ९ हजार ५ सय ९४ जना छन् । यसैगरी वैवाहिक अंगिकृत नागरिकता १६ जनाले प्राप्त गरेका छन्, भने ३० जनाले जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेका छन् ।

मकवानपुरमा गत वर्ष ७ हजार ६ सय ८६ वटा प्रतिलिपि नागरिकता वितरण गरिएको प्रजिअ तामाङले जानकारी दिए । सेवा प्रवाहलाई जनताको घरदैलोसम्म पुर्याउने उद्देश्यले कार्यालयबाट जिल्लाका विभिन्न स्थानमा विभिन्न मितिमा नागरिकता वितरण घुम्ती शिविर सञ्चालन गरिएको उनले बताएका छन् ।

जिल्लामा शान्ति सुरक्षाको विश्वसनीय र भरपर्दो सुरक्षा व्यवस्था मिलाई नागरिकको शान्ति सुरक्षा र अमनचयनको व्यवस्था पूर्णरुपमा मिलाइएको, जिल्लाको सुरक्षामा एकीकृत रणनीतिक सुरक्षा योजना तयार गरिएको र त्यस अनुसार काम गरिएको प्रजिअ तामाङले बताए । जिल्ला सुरक्षा समितिको बैठकलाई गतिशील, नतिजामुखी र प्रभावकारी बनाउँदै जिल्ला सुरक्षा समितिको बैठक ३३ पटक स्पष्ट एजेन्डा सहित सञ्चालन गरिएको उनले जानकारी दिए ।

मकवानपुर क्षेत्रमा पर्ने राजमार्गलाई निर्वाध रुपमा सञ्चालन हुने व्यवस्था मिलाउँदै जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालयहरुको नियमित रुपमा निरीक्षण गरिएको उनको भनाई छ । गुण्डागर्दी, संगठित अपराध, जवरजस्ती असुली, महिला हिंसा लगायतका अपराधलाई नियन्त्रणमा महत्वपूर्ण काम भएको प्रजिअ तामाङको दावी छ ।