हेटौंडा,१४ साउनः मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ ज्यामिरेमा ५२ लाख रुपैयाँको लागतमा निर्माण गरिएको क्रङ्किट ड्याम गुणस्तरहीन भएकोमा स्थानीय जनप्रतिनिधिहरुले आपत्ति जनाएका छन् ।
खैरनी खोलाको दोभान ज्यामिरे बस्ती जोगाउन बनाइएको ड्याम ठेकेदारको लापरबाहीले एक हप्ता भएपनि “सेट” नभएको स्थानीय रामप्रसाद घिमिरेले बताए । भिजन कन्स्ट्रक्सन प्रालिले ५२ लाखको लागतमा ज्यामिरेमा ६५ मिटर लामो कंक्रिट ड्याम निर्माण गरेको बताइएको छ । कम्पनीले मापदण्ड विपरित बालुवाको मात्रा बढी हालेको सिमेन्ट र छडको प्रयोग कम गरेको अनुगमनको क्रममा पाइएको बताइएको छ ।
ज्यामिरे खोलामा निर्माण गरिएको ६५ मिटर लामो आरसीसी ड्याममा बालुवा निस्कने, वरपर चर्किएको पाइएको स्थानीय लक्ष्मण फूयाल बताए । मकवानपुरगढी गाउँपालिकाले ठेक्का मार्फत निर्माण गरेको ड्याम भिजन कन्स्ट्रक्सन प्रालिले ५२ लाख रुपैयाँ लागतमा निर्माण गरेको हो । ड्याम निर्माण सम्झौतामा उल्लेख गरेको भन्दा सिमेन्ट अत्यन्त कम मात्र हालिएकाले गुणस्तरहीन भएको पाइएको फूयालले बताए ।
गाउँपालिकाका प्रमुख बिदुर हुमागाई, ५ नम्बर वडा अध्यक्ष जित बहादुर घिमिरे र टोल विकास संस्थाका प्रतिनिधिहरु र पत्रकारहरु समेतले निर्माण गरिएको ड्यामको निरीक्षण गर्दै कमसल प्रयोग भएको आरोप लगाएका छन् । वडा नम्बर ५ का अध्यक्ष जित बहादुर घिमिरेले निर्माण गरिएको ड्याम मापदण्ड विपरित रहेकोले ठेकदारलाई पुनः बनाउन लगाउने र कार्बाही गरिने जानकारी दिए ।