हेटौंडा,१७ साउनः बिना सावधानी सामाजिक संजालको व्यापक प्रयोग बढिरहेको सन्दर्भमा साइबर क्राइमका घटना र सो सँग सम्बन्धित उजुरीहरु प्राप्त भइरहँदा आज शुक्रबार हेटौंडामा प्रहरीले साइबर अपराधबारे सचेतना कार्यक्रम आयोजना गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी प्रधान कार्यालय केन्द्रीय साईवर ब्युरा भोटाहिटी काठमाडौंको संयुक्त आयोजनामा आज मकवानपुरको हेटौंडामा कार्यक्रम भएको हो । कार्यक्रममा साइबर अपराधको प्रकृति, यसले निम्त्याउने समस्या र महिला तथा बालबालिकामा यसको असरबारे प्रष्ट पारिएको थियो ।
कार्यक्रममा बोल्दै केन्द्रीय साईबर ब्युरो काठमाडौंका प्रहरी नायव महानिरीक्षक विकास श्रेष्ठले नेपालमा ६३ प्रतिशत जनता इन्टरनेटको पहुँचमा रहेको र तीमध्ये ९८ प्रतिशतले मोबाइलको माध्यमबाट नेटको प्रयोग गर्ने गरेको बताए । प्रयोगकर्ताले सामाजिक सञ्जालको सही सदुपयोग गर्न नजान्दा विभिन्न समस्या देखिएको भन्दै उनले यस्ता घटनाका कारण आपराधिक क्रियाकलाप बढ्दै गएको तथ्यहरु सुनाए ।
ग्लोबल भिलेजको अवधारणले गर्दा आमसंचार र न्यु मिडिया सबैको पहुँचमा भएको र त्यही न्यु मिडियाको सहि सदुपयोग गर्न नसक्दा साईबर अपराधको प्रमुख कारण सामजिक सञ्जाल नै भएको उनले बताए ।
कार्यक्रममा ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक नवीन्द्र अर्यालले अहिले विभिन्न सामाजिक सञ्जालबाट हुने गरेका अपराधको निशाना महिला तथा बालबालिका केन्द्रित हुने गरेको र महिला तथा बालबालिकालाई अपराधमा सामेल गर्न सजिलो हुने भएकाले अपराधीले उनीहरुलाई रोज्ने गरेको बताए ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै ब्युरोका प्रहरी निरीक्षक प्रविण ताम्राकारले अहिलेसम्म ब्युरोमा एक हजार ४ सय ९८ सामाजिक सञ्जाल फेसबुकबाट गरिएका अपराध सम्बन्धमा उजुरी परेको बताए । निरीक्षक ताम्राकारले प्रायः गरेर कक्षा ८ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई सामाजिक सञ्जाल प्रयोग गरी सहजरुपमा फसाउने गरेको र सामाजिक सञ्जालमार्फत चरित्र हत्या, ठगी, बेचबेखिन, फिरौती, धम्की, तस्करी लगायत अपराध हुने गरेको जानकारी दिएका छन् ।
कार्यक्रममा बोल्दै मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले मकवानपुरमा पनि सामाजिक संजालको गलत प्रयोजनले गर्दा दिनहुँ यौनजन्य र आपराधिक घटनको उजुरी आउने गरेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश ३ का अध्यक्ष प्रताप बिष्ट, पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरी हुमागाई, सामुदायिक सेवा केन्द्र थानाभर्याङका अध्यक्ष शालिकराम पुडासैनी, पशुपतिनगर अध्यष्क्ष राम बिष्ट, माईती नेपाल मकवानपुरकी माया लामा, वडा प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी निरीक्षक सन्तोष श्रेष्ठ लगायतको उपस्थिति थियो । त्यसैगरी जिल्ला प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठ, मकवानपुर उद्योग वाणिज्य संघ मकवानपुरका बरिष्ट उपाध्यक्ष माधव न्यौपाने, प्याब्सन मकवानपुर उपाध्यक्ष बिनोद सुवेदी लगायत कार्यक्रममा सहभागी थिए । कार्यक्रममा हेटौंडा–६ चौघडामा रहेको सुनगाभा शिक्षा निकेतन, हेटौँडा ५ मा रहेको दिब्य ज्ञान कुञ्ज बेडिङ् तथा हेटौँडा ११ नवलपुरमा रहेको जेम्स बेर्डिङका विद्यार्थीहरु र विभिन्न संघ संस्थाका प्रतिनिधीको सहभागिता रहेको थियो ।