हेटौंडा,१५ साउनः बिबिएम तेस्रो सेमेस्टारको नतीजा सार्वजनिक भएको छ । प्राप्त नतीजा अनुसार मकवानपुर क्याम्पसका ७५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
विविए/विविएम कार्यक्रममा उत्कृष्ट नतीजा दिँदै आएको दाबी गरिरहेको यस क्याम्पसको विविएम तेस्रो सेमेस्टारमा ७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् ।
परीक्षामा सहभागी कूल २८ परीक्षार्थीमध्ये ८ जना ३.७० जिपिएभन्दा माथि अर्थात् विशिष्ट श्रेणीका साथ उत्तीर्ण भएका छन् । साथै, १३ परीक्षार्थी प्रथम श्रेणीमा उत्तीर्ण भएका हुन् । ३.८९ जिपिएका साथ पुष्पा दुलाल तेस्रो सेमेस्टार टपर बनिन् । ३.८८ जिपिएका साथ मनिषा लुईंटेल द्वितीय र ३.८७ जिपिएका साथ प्रजिता सुवेदी तृतीय भइन् । सर्वेश आचार्यले ३.८५ जिपिए प्राप्त गर्न सफल भए ।
उत्कृष्ट नतीजा हासिल गर्ने अन्यमा दिपिका दाहाल, रोशिका उप्रेती, प्रदिप आचार्य र सम्झना महर्जन छन् । अन्य परीक्षार्थी प्रथम श्रेणीमा उत्तीर्ण भएका मकवानपुर बहुमुखी क्याम्पसका विविए/विविएम कार्यक्रम निर्देशक मधुकुमार सिंहले जानकारी दिएका छन् ।
शैक्षिक हवको रुपमा आफ्नो पहिचान बनाउन प्रयासरत मकवानपुरको हेटौंडामा रहेको मकवानपुर बहुमुखी क्याम्पस जिल्लाको महत्वपूर्ण शैक्षिक संस्थाको रुपमा रहेको छ । विद्यार्थी संख्या, पठनपाठन हुने विषयहरु र शैक्षिक वातावरणका कारण पनि यस क्याम्पस परिचित छ ।
मकवानपुरका अतिरिक्त छिमेकी जिल्ला तथा अन्य विभिन्न स्थानहरुबाट पनि यहाँ विद्यार्थीहरु आउने गरेका छन् । विविए/विविएम कार्यक्रमले उत्कृष्ट नतीजा दिन सफल भएसँगै यि विषय अध्ययनका लागि अन्य जिल्लाका विद्यार्थीको लागि समेत उत्कृष्ट विकल्प बनेको र आकर्षण बनिरहेको कार्यक्रम निर्देशक सिंह बताउँछन् ।