पविना लामा : 

दलित समुदायको एक परिवारको बास समसान घाटमा रहेको छ । विहान वेलुकी कसरी छाक टर्ने भन्ने चिन्ता मात्रै रहेको छ यो परिवारलाई । यो हेटौडा उपमहानगरपालिका भित्रको वडा नम्बर १२ वनस्पतिको जगंल स्थित समसानघाटमा बस्ने एक दलित परिवारको वृतान्त हो । यो परिवारमा आमा बुवा, ३ छोरी र एक छोरा गरी ६ जनाको परिवार रहेको छ । साना साना छोराछोरीहरु त्यही समसान घाटमा रहेको एउटा साना छाप्रोमा छाडेर विहान बेलुका खानाको जोहो गर्न दिनभर मेलापात गरेर जीवन निर्वाह गर्दै आएको छ ।

यो पार्वती विकको परिवारको वृतान्त हो । पार्वति ३ छोरी र एक छोराको आमा हुन् । उनको साथमा उनको श्रीमान पनि छन् । पार्वतिको यो जोडीले आफ्नो ४ सन्तानसहित आफुहरु कसैले मरेको आफन्तको नाममा बनाएर छोडेको छाप्रोमा २ वर्षदेखि जीवन निर्वाह गर्दै आएको बताउँछिन् । समसान घाटबाट नजिकै रहेको गाउँमा मेलापात गरेर छोराछारीलाई जसोतसो गरी खाने कुरा जुटाउँने गरेको पनि पार्वतिले बताईन् । पार्वति दम्पतिको सम्पति जे भने पनि ३ छोरी र एक छोरा रहेको छ । हालसालै उनको ४ वर्षीय छोराको मोटरसाईकलकोे ठक्करबाट खुट्टा भाँचिएको छ । उपचार मोटरसाईकल चालकले गरिदिए पनि छोरा हस्पिटल बोकेर हिड्नु परेकाले घरका छोरीहरुलाई खानेकुरा जोहो गर्न गाहे भएको पार्वतीको गुनासो छ ।

अहिले ४ वर्षीय छोरा ६ महिनाको हुँदा आगोमा परेर टाउकोको एक भाग कानसम्म पोलेको खत देखाउँदै पार्वति भन्छे छोरा सुताएर अर्काको काममा जादा चुलोमा परेर जलेको भन्दै छोराको आगोले पोलेको खत सुमसुम्याउँदै रुन्चे मुख लगाईन् । उनले आफ्नो जीवन दुख नै दुखमा विते पनि आफ्नो छोरा छोरीको भविष्य भने राम्रो बनाउने चाहाना राखिन् । गाउँमा काम गर्न जादा बलात्कारका घटनाहरुको विषयमा कुरा गरेको सुनेपछि आफ्नो छोरीहरु माथि पनि यस्तै अन्याय होला की भन्ने चिन्ताले सताउने गरेको पनि बताईन् । घर गतिलो नभएकोले रातमा पार्वतिको दम्पति राम्ररी कुनै पनि रातमा ननिदाएको बताउँछन् ।

पर्वति दम्पतिको कुनै पनि घटना दर्ताहरु सरकारी कार्यलयमा नभएकाले छोराछोरीको जन्म दर्तासमेत भएको छैन । उनको परिवारले सरकारले दिने सेवासुविधा कुनै पनि नपाएको र सरकारले के कस्तो सेवा सुविधा दिन्छ भन्ने विषयमा समेत जनकार छैनन् । विहान बेलुकी छाक कसरी टार्न सकिन्छ छोराछोरीलाई पेट कसरी भराउने भन्ने मात्रै राम्ररी बुझेको त्यो दम्पति यसरी दुखको जीवन विताउँदै छन् त्यो समसान घाटमा । यसरी अलपत्रमा जीवन निर्वाह गर्दै आएका पार्वति दम्पतिको स्थाई ठेगाना खुल्न सक्ने कुनै पनि कागजात समेत उनीहरुको साथमा छैनन् । तर पार्वतिको भनाई अनुसार हेटौंडा थानाभर्याङतिरको स्थायी बासिन्दा रहेको बताउछिन् ।