हेटौंडा,१० असारः नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आह्वान गरेको बन्दका कारण आज हेटौंडा बजार लगायत मकवानपुरको जनजिवन प्रभावित बनेको छ ।
सो पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या विरुद्ध ‘विप्लव’ नेतृत्वको (नेकपा)ले नेपाल बन्दको घोषणा गरेको हो ।
हेटौंडा बजारमा गाडी चलेका छैनन्, भने अघिकांश शैक्षिकसंस्था र केही उद्योग पनि बन्द भएका छन् । यस्तै, छोटो तथा लामो दुरीका सवारी साधन पनि चल्न सकेका छैनन् । बजारमा आज मोटरसाइकल र अटो–रिक्साहरु मात्र चलेका छन् । बन्दलाई लक्षित गरी मकवानपुर प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।

आफ्नो पार्टीका जिल्ला इञ्चार्जको हत्या गरिएपछि गत शुक्रवार नेकपाका महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै ४ दिने आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए ।
वर्तमान सरकारले मुठभेडका नाममा देशव्यापी रुपमा निशस्त्र कार्यकर्ता माथिको हत्याश्रृंखला बढाएको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरिएको महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।