मिनेन्द्र भण्डारी (निश्चल)
दोरम्बा–६, रामेछाप
हिजो संगै लडेका हौं युद्ध
बसेका थियौं एउटै शेल्टरमा
र,कसेका हौं सयौं मोर्चाहरु ।।
अपशोच !
डराएर क्रान्ति यात्रादेखि
तिमी हराएका हौ जनशिविरबाट
र, बेचेर त्यही अलिकती उपलब्धी
पाएका हौ अवसरको त्यो सत्ता ।
तर म त्यही मोर्चा संहाल्दैछु-
जो तिमी स्वयंले सिकाएका थियौ ।।
महोदय !
तिमीलाइ सत्तसिन बनाउन
र, सत्तामै टिकाई राख्न
म एउटै लडाकु–
दुई–दुई पटक मर्दैछु ।।
यिनै प्रश्नहरूको कठघरामा छौ तिमी
अप्ठेरो नमान कमरेड,
सत्ताको मधुमासबाट एकैछिन बाहिर निस्क
र, हेर–
विगत र वर्तमानको तिम्रै युद्ध–अभियान
के त्यो अनागरिकहरुले चलाएका थिए–
या, तिमी स्वयं थियौ– अनागरिकहरुको अगुवा ??
समयको मज्जाकसगैं–
म त अझै गतिशील छु
मौका सहि छ शासक !
आउ, च्याप्प समाउ
र, मेरो निधारमै दाग गोली
तिम्रो सत्ताको विरुद्ध–
सहादत नै प्रिय छ मलाई ।।