हेटौंडा,९ असारः एचआईभी र एड्सको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका गोकुल लामाले यस क्षेत्रमा हाल वकालत शून्य अवस्था रहेको बताएका छन् ।
आज सोमबार हेटौंडामा भएको एक छलफलमा सहभागी उनले यस क्षेत्रमा भएका मुद्दाहरुलाई उठाउन र संक्रमितहरुको सेवा तथा सुविधाका लागि वकालत जरुरी रहेको बताएका हुन् ।
संक्रमित व्यक्तिहरु आजको दिनसम्म पनि भेदभाव र लाञ्छनाको सिकार भइरहेको भन्दै उनले एचआईभी सामान्य कुरा हो भनेर अझै पनि समाजमा बुझाउन नसकिएको स्वीकार गरे ।
संविधानतः कसैलाई पनि कुनै आधारमा भेदभाव गर्न पाईंदैन । जस अनुसार संक्रमित भएकै आधारमा कुनै व्यक्तिलाई भेदभाव हुन नहुने हो । प्रतिनिधिमूलक रुपमा ताजा घटनाहरु स्मरण गर्दैै छलफलका सहभागीहरुले अझै पनि धेरै संक्रमितहरु विभेद र हिंसाको सिकार हुन बाध्य छन्, भने ।
सामान्य नागरिकहरुबाट मात्रै होइन, संक्रमित व्यक्तिहरु जनप्रतिनिधिहरुबाट पनि समान व्यवहार नपाएको गुनासो गर्छन् । संक्रमितको क्षेत्रमा कार्यक्रम गर्न जाँदा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले नै फरक र सहन गाह्रो व्यवहार गरेको मकवानपुर महिला समूहकी अध्यक्ष कमला सुवेदीको अनुभव छ । बैठकमा आफ्नो अनुभव सुनाउँदै अध्यक्ष सुवेदीले अझै पनि कतिपय जनप्रतिनिधिले संक्रमित व्यक्तिहरुलाई आफ्नो जनताको रुपमा स्वीकार्न गाह्रो भएको बताइन् ।
“संक्रमित भनी खुलेर जाँदा विभेद हुन्छ, पहिचान लुकाएर सेवा लिन पनि सहज छैन”, बैठकका अधिकांश सहभागीहरुको अनुभव थियो । बैठकमा मकवानपुर महिला समूहकी संस्थापक अध्यक्ष राधिका चौलागाईंले संक्रमितको क्षेत्रमा रहेका यि समस्याहरुलाई जनप्रतिनिधिकै समस्या हो भनी बुझाउन जरुरी रहेको विचार राखिन् । संस्थापक अध्यक्ष चौलागाईंले अब स्थानीय तहका जनप्रतिनिधिलाई नै जिम्मेवार बनाउनु पर्ने बताइन् ।
मकवानपुर महिला समूहको आयोजना तथा नानगान सञ्जालको सहकार्यमा बैठकको आयोजना गरिएको हो । बैठक मार्फत जिल्लामा एचआईभी र एड्सको क्षेत्रमा क्रियाशील संघ, संस्थाहरुबीच समन्वय गरी यहाँका लक्षित वर्गको समस्या पहिचान गर्दै समाधानका लागि प्रयास गर्ने उद्देश्य राखिएको समूहकी सचिव साबित्री विडारीले बताइन् ।