हेटौंडाः ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कृषि तथा वन विज्ञान विश्वविद्यालयको भवन बनाउनमा कसैले बाधा गरेमा सबैभन्दा अगाडि आफू आउने बताएका छन् ।

हेटौंडास्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय परिसरमा बन्न लागेको भवनको आज बिहान शिलान्यास गर्दै उनले विकासमा कोही पक्ष र प्रतिपक्ष हुन नहुने बताए ।
हेटौंडामा रहेको सो संस्थामा प्रायः सबै भवन जीर्ण रहेको अवस्थामा भवन बनाउनु जरुरी थियो भन्दै उनले केही पक्षहरुबाट अवरोध गर्ने अवस्था आएमा आफूले त्यसको विरोध गर्ने र भवन बन्ने वातावरण बनाउन सघाउने प्रतिबद्धता जनाए ।

कसैले आफ्नो स्वार्थका लागि कृषि र वन भन्दै विवाद गरिरहेको भएपनि मकवानपुरबासीको हितका लागि यसको संरक्षण र विकास जरुरी रहेको मुख्यमन्त्रीको भनाई छ । “भोली विश्वविद्यालय सरेपनि भवन लाने होइन, प्रदेश विश्वविद्यालयको कुरा गरेका छौं, भवन बन्यो भने त्यसमा पनि काम लाग्न सक्छ”, मुख्यमन्त्री पौडेलले भने ।
४ सयभन्दा बढी विद्यार्थी अध्ययन गर्ने क्याम्पस सफा नहुनु दुखको कुरा भन्दै उनले त्यसामथि टिप्पणी गरे । “विश्वविद्यालय पस्ता राम्रो वातावरण छैन, प्राध्यापकहरुको कोठामा हसिया लिएर झाडी फाँड्दै जानुपर्ने जस्तो देखिन्छ । यस्तो वातावरणमा हामीले विद्यार्थीलाई के सिकाउँछौं?” मुख्यमन्त्रीले प्रश्न गरे ।

सबै विद्यार्थी २ घण्टा परिचालन गर्ने हो भने क्याम्पसको रुप फेरिने उनको भनाई थियो । कायक्रममा राष्ट्रिय सभा सदस्य रामचन्द्र राई, उद्योग पर्यटन बन तथा वातावरणमन्त्री अरुण नेपाल, प्रदेश सभा सदस्य इन्द्र बानियाँ, प्रेमबहादुर पुलामी, पूर्व सभासद् सुभाषचन्द्र ठकुरी लगतयतले समयमै भवन निर्माण सम्पन्न होस् भनी शुभकामना दिए ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रो.डा. इश्वरीप्रसाद ढकालको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रो. डा. मनराज कोलाक्षपतिले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
२ कठ्ठा जमिना २० कोठे भवन २ वर्षभित्र बन्ने योजनाका साथ काम सुरु भएको हो ।