फाइल तस्वीर

हेटौंडा,८ असारः डिभिजन सडक कार्यालयले हेटौंडाको सडक २५ मिटर फराकिलो पार्नको लागि १५ दिने सूचना जारी गरेपछि हेटौंडामा यो विषयको चर्चा चुलिएको छ । १५ दिने सूचना जारी भएसँगै २५ मिटर फराकिलो पार्ने विषयमा मकवानपुरमा विभिन्न व्यक्ति तथा निकायहरुले फरक–फरक मत जाहेर गरेका छन् ।
यस क्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजकुमार न्यौपानेले मुआब्जा नदिई सडक विस्तार गरिए प्रतिकार गर्ने बताएका छन् । विगतलाई निरन्तरता दिँदै उनले उचित मुआब्जा बिना सडक विस्तार भए बिरोध गर्ने भन्दै सडक विभागको सो कदमबिरुद्ध अभिव्यक्ति दिएका हुन् ।
यता हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत भने सडक विस्तारको पक्षमा रहेका छन् । उनले सडक विभागको यस कदमलाई साथ दिन आफू तयार रहेको अभिव्यक्ति दिएका हुन् ।
विगतदेखि नै हेटौंडाको सडक २५ मिटर फराकिलो पार्नुपर्छ भन्ने विषयको पक्षमा अभिव्यक्ति दिँदै आएका मेयर महतले यो पटक पनि आफुहरुको साथ रहेको स्पष्ट पारेका हुन् । उनले हेटौंडाको सडकलाई २५ मिटर फराकिलो पार्नको लागि सडक डिभिजनले आवश्यक्ता ठान्यो आफूहरुले साथ र समर्थन दिने बताएका छन् ।

यसअघि आफुहरुले २५ मिटर फराकिलो पार्ने विषयमा प्रधानमन्त्रीलाई समेत पत्र पठाएको स्मरण गर्दै मेयर महतले ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा २५ मिटरको विषय निकै महत्वको साथ उठ्नु स्वभाविक रहेको पनि बताए ।
सडक फराकिलो बनाउने पक्षमा आफू रहेको स्पष्ट पार्दै उनले हेटौंडा प्रदेश राजधानी भएपछि यहाँ सुविधाहरु थप हुनुपर्ने, फराकिलो सडक र नमूना सहर हुनुपर्ने धारणा राखे । मेयर महतले क्षतिपुर्ती र मुआब्जा नपाएकाहरुको हकमा राज्यले उचित क्षतिपुर्ती र मुआब्जा समेत दिनुपर्ने बताए ।
हेटौंडाको सडक विस्तारका लागि सडक विभागले यसअघि पनि पटक–पटक प्रयास गर्दै आएको छ । सूचना जारी गर्दै, विस्तारको केही काम थालेपनि केही व्यक्ति तथा संस्थाको विरोधपछि राजनीतिक पहल सडक विस्तारको काम थाती राख्दै आइएको थियो ।