हेटौंडाः नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)को वडा समन्वय परिषद् गठन कार्यलाई तीब्र पारिएको छ । यसै क्रममा नेफिनले हेटौंडा उपमहानगरपालिकाको ७ वटा वडामा परिषद् गठन गरेको हो ।
नेपाल आदिवासी जनजाति महासंघ, हेटौंडाले हेटौंडा उपमहानगरपालिकाको सहयोगमा वडा नम्बर १, २, ५, ७, ८, ९ र १० मा आदिवासी जनजातिलाई संगठित गरेको जानकारी दिएको हो । आदिवासी जनजाति संघ–संस्थाका प्रतिनिधिको भेलाले वडा नम्बर १ मा यज्ञबहादुर रुचाल मगर, २ मा काजीमान तितुङ्ग, ५ मा डोल्मा स्याङ्बो (तामाङ), ७ मा अमर गुरुङ्ग, ८ मा निरोज राई र ९ मा अस्मिता वाईबाको अध्यक्षतामा कार्यसमिति गठन गरेको जनाएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष तिर्थबहादुर थापा मगरको प्रमुख आतिथ्यमा सञ्चालन भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ हेटौंडाका अध्यक्ष जंगबहादुर गुरुङको सभाध्यक्षता रहेको थियो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष अशोकसुजन श्रेष्ठले सहजीकरण गरेका थिए । कार्यक्रममा नेपाल मगर संघ मकवानपुरका अध्यक्ष होमबहादुर राना मगर, नेपाल तामाङ्ग घेदुङ्ग मकवानपुरका अध्यक्ष कालु घलान, नेवाः देय् दबुः मकवानपुरका उपाध्यक्ष अनिल खड्गी, आदिवासी जनजाति महासंघ, हेटौंडाका उपाध्यक्ष अमिता चौधरी, कोषाध्यक्ष नरेशलाल श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल मगर संघ हेटौंडाका अध्यक्ष भरत ठाडा मगर, नेपाल तामाङ्ग घेदुङ्ग हेटौंडाका अध्यक्ष ठिसाङ लामा, थारु कल्याणकारिणी सभा मकवानपुरका सभापति हरिलाल चौधरी लगायतको आतिथ्य रहेको थियो ।