हेटौंडाः विद्यार्थी शहीदहरु प्रितकुमार मोक्तान र भुपेन्द्र तिमल्सिनाको सम्झनामा हेटौंडा क्याम्पस परिसरमा निर्मित वाटिकाको विद्यार्थीहरुले सरसफाई गरेका छन् ।
नेकपा निकट अनेरास्ववियु (क्रान्तिकारी), मकवानपुर बहुमुखी क्याम्पस कमिटीको आयोजनामा शनिबार शहीद स्मृति बाटिका सरसफाई गरिएको हो ।
हेटौंडा क्याम्पसमा अध्ययनरत तथा संगठनका तत्कालीन केन्द्रीय सदस्य रहेका प्रितकुमार मोक्तान र जिल्ला सदस्य रहेका भुपेन्द्र तिमल्सिनालाई तत्कालीन सेनाले राजनीतिक आस्थाको आधारमा हत्या गरेको थियो । उनै दुई विद्यार्थी शहीदको सम्झनामा हेटौंडा क्याम्पस र आधुनिक स्कूल अगाडी संगठनले केही वर्षअघि बाटिका निर्माण गरेको थियो ।
सरसफाई कार्यक्रममा संगठनको मकवानपुर बहुमुखी क्याम्पस कमिटी, हेटौंडा क्याम्पसमा रहेका संगठनका विद्यार्थीहरु तथा इच्छुक अन्य विद्यार्थीहरु सहभागी रहेको अध्यक्ष रामकृष्ण शिवाकोटीले जानकारी दिए । साथै, विद्यार्थी शहीदको नाममा निर्मित सो वाटिका परिसरमा सरसफाईका लागि नजिकका विद्यालय र क्याम्पसको पनि ध्यानाकर्षण गराइएको अध्यक्ष शिवाकोटीले बताए ।