हेटौंडाः देशका सबै (सातवटै) प्रदेश सरकारले आज आइतबार आर्थिक वर्ष २०७६/७७ को बजेट ल्याउँदैछन् । प्रदेश ३ सरकारले आज साँझ ५ बजे प्रदेशसभामा बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
देशकै राजधानी समेत रहेको यस प्रदेशमा सबैभन्दा बढी अंकको अर्थात् ५० अर्बको बजेट प्रस्तुत हुने भएको हो । सातवटै प्रदेशको कूल बजेटको आँकडा २ खर्ब ५४ अर्ब पुग्ने अनुमान छ । जसमा प्रदेश ३ को ५० अर्ब रहने देखिन्छ ।

प्राप्त विवरण अनुसार प्रदेश १ ले ४० अर्ब र प्रदेश २ ले ३५ अर्बको बजेट प्रस्तुत गर्नेछ । त्यस्तै, गण्डकी प्रदेशले ३२ अर्ब, प्रदेश ५ ले ३५ अर्ब, कर्णाली प्रदेशले ३३ अर्ब र सुदुरपश्चिम प्रदेशले २९ अर्बको बजेट ल्याउने तयारी गरेका छन् ।

कृषि, पर्यटन, सडक, खानेपानी र उद्यमलाई सबै प्रदेशले प्राथमिकतामा राखेका छन् । साथै, साना आयोजनाभन्दा प्रदेशकै हितमा हुने, महत्वपूर्ण र ठूला आयोजना बजेटको प्राथमिकतामा परेका छन् ।