हेटौंडाः ३ नम्बर प्रदेशका आन्तरीक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेलले अबको नयाँ नेपालमा भेदभावको सोच बदल्नुपर्ने बताएका छन् ।
दलित मानवअधिकार प्रबद्र्धनका लागि आज शुक्रबार हेटौंडामा भएको प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री जमकट्टेलले भेदभावको सोच अन्त्य गर्नुपर्ने बताएका हुन् ।
राज्यले दिने हरेक सेवा सुविधा गरिब र दलितको पक्षमा नहुने गरेको बताउँदै मन्त्री जमकट्टेलले पहुँच भएकाहरुले मात्र सरकारी अनुदानहरु पाउने गरेको जिकिर गरे ।
कार्यक्रममा आत्मसम्मानका लागि प्रयत्नका कार्यसमिति सदस्य सुस्मा छिनालले कार्यपत्र प्रस्तु्त गर्दै यौन पेशामा ७५ प्रतिशत दलित महिला रहेको जानकारी दिइन् । काभ्रे जिल्लामा सबैभन्दा बढी दलित छुवाछुत हुने गरेको भन्दै उनले दलितलाई कुनै समस्या पर्दा प्रहरीले समेत असहयोग गरेको गुनासो गरिन् ।

आत्मसम्मानका लागि प्रयत्न डिग्नीटी इनिसिएटिभको आयोजना तथा अष्ट्रेलियन एडको सहयोगममा कार्यक्रम भएको हो । कार्यक्रममा ३ नम्बर प्रदेशका प्रदेश मामिला समितिका सभापति माधव पौडेल, अर्थ तथा विकास समितिका सभापनि सुरेश नेपाल, प्रदेश सभा सदस्यहरु जुनेली श्रेष्ठ, मैना अछामी लगायत दलित अधिकारका क्षेत्रमा क्रियाशील अभियन्ताहरु र जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
छलफलको निश्कर्ष निकाल्दै कार्यक्रम सञ्चालक कमलकुमार विश्वकर्माले कार्यक्रमको माध्यमबाट दलित समुदायको मानवअधिकार प्रबद्र्धनमा सहयोग पुग्ने अपेक्षा राखिएको बताएका छन् । उनले विभेदको समस्या दलित समुदायको मात्र नभई साझा समस्या भएकोले समाधानको लागि पनि सबैले प्रयास गर्नुपर्ने बताए ।