हेटौंडा,२६ जेठः मकवानपुरको मनहरी गाउँपालिकाका २ वटा वडा प्रदेशमै पहिलोपटक बाल विवाह मुक्त वडा घोषित भएका छन् । आज एक समारोहबीच ३ नम्बर प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले मनहरीको ८ र ९ नम्बर वडालाई बाल विवाहमुक्त भएको घोषणा गरेका मनहरीबाट जयराम मोक्तानले जानकारी गराएका छन् ।

बालविवाहलाई न्यूनीकरण गर्ने उद्देश्यले जिल्लाको १०२ वडामध्ये आज एक कार्यक्रमबीच मनहरी गाउँपालिकाको वडा नम्बर ८ र ९ लाई बालविवाह मुक्त घोषणा गरिएको हो ।
८ र ९ नम्बर वडाको आयोजनामा भएको घोषणा सभामा सहभागीहरुले आफ्ना कम उमेरका बालबालिहरुलाई बाल बिबाह नगराउने सामूहिक प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
घोषणा भएका दुई वडा मध्ये १ सय पूर्णाङ्कमा क्रमश वडा नम्बर ८ ले ९२ दशमलव ३३ र वडा नम्बर ९ ले ९१ दशमलव ६६ प्रतिशत अङ्क प्राप्त गरेका छन् । ८० प्रतिशत भन्दा माथिकोलाई उपलब्धी नै मानिने भएकाले घोषणा गरिएको हो ।

कार्यक्रममा जनप्रतिनिधिहरुले अब यसलाई निरन्तरता दिने भनी स्थानीयवासी र सरोकारवालाहरुको प्रतिबद्धता जनाएर यस वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले जानकारी दिइन् ।
प्लान ईन्टरनेशनल नेपाल र बाल कल्याण समाजसँगको सहकार्यमा कार्यक्रम भएको हो ।

मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीको सभाध्यक्षतामा आयोजित उक्त कार्यक्रममा ३ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल, प्रदेशसभा सदस्य ओम ग्लान, पूर्व सभासद राजाराम स्याङ्तान, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल लगायतले बाल विवाहलाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिए ।

प्लान ईन्टरनेशनल नेपाल र बाल कल्याण समाजसँगको सहकार्यमा घोषणा सभा कार्यक्रम भएको हो । सो अवसरमा वडालाई बाल विवाह मुक्त वडा घोषणामा सहयोग गरेकोमा प्लान ईन्टरनेशनल नेपाल र बाल कल्याण नेपाललाई सम्मान समेत गरिएको थियो । प्रदेशलाई बालविवाह मुक्त बनाउने योजनाका साथ ३ नम्बर प्रदेश सरकार अघि बढिरहेको छ ।