हेटौंडा,२६ जेठः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ स्थित गणेश आधारभूत विद्यालय, कुवापानीमा जापान सरकारको सहयोगमा निर्मित चारकोठे भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
छात्रछात्रा शौचालय, स्टोर, प्रधानाध्यापक कक्ष र भान्साकोठा सहितको सो भवन आज आईतबार विद्यालय परिसरमा आयोजित एक कार्यक्रमबीच उद्‌घाटन सहित विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर रुम्बाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा)का प्रमुख बद्रीबहादुर पाठक, जाइका परामर्शकर्ताको तर्फबाट जिल्ला आवासीय इन्जिनियर रोजेश गोविन्द श्रेष्ठ, निर्मल मावि बस्तिपुरका प्रधानाध्यापक प्रवोध विडारी, जिल्ला आयोजना कार्यान्वयन इकाईका इन्जिनियर सन्दिप अधिकारी, वडा नम्बर १९ का वडा सदस्य वागसिं स्याङ्तान, निर्माण कम्पनी स्वच्छन्द खानी बानियाँ जेभि निर्माण सेवाका सागर भण्डारी, प्राविधिकहरु र अभिभावकहरु उपस्थित रहेका थिए ।

निर्माण सेवाका तर्फबाट सागर भण्डारीले विद्यालयको साँचो जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुखलाई हस्तान्तरण गरेका थिए भने इकाई प्रमुखले विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई भवन हस्तान्तरण गरेका थिए । इकाई प्रमुख बद्रीबहादुर पाठकले नवनिर्मित भवनको उद्घाटन गरेका थिए । आधारभूत तह कक्षा १ देखि ५ सम्मका लागि आवश्यक फर्निचर सहितका सामग्रीसमेत गरी कूल एक करोड ७७ लाख २६ हजार तीन सय तीन रुपैयाँको लागतमा भवन निर्माण भएको हो । भवनले कुवापानी क्षेत्रका बालबालिकाको गुणस्तरीय पठन पाठनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा शिक्षक इन्द्र लामाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमका अतिथिहरुले शुभकामना मन्तव्य राख्दै विद्यालयमा बालबालिकाको पँहूच, टिकाउ र सिकाईमा जोड दिए । साथै वक्ताहरुले हस्तान्तरण भएको भवनको सरसफाई, उचित व्यवस्थापन र संरक्षणमा रचनात्मक भूमिका खेल्न सबैमा आग्रह समेत गरे ।
विद्यालय पुनर्निमाण अन्तर्गत मकवानपुर जिल्लामा जाइकाको ऋण सहयोगमा निर्माणाधीन ४१ विद्यालयमध्ये प्रथम चरणमा निर्माण थालिएका तीन विद्यालयहरु यस अघि नै हस्तान्तरण भएका छन् ।