हेटौंडाःमिडिया काउन्सिल विधेयक सहित सञ्चार विरोधी ऐन कानूनहरुको विरोध गर्दै हेटौंडामा आज शनिबार बिहान पत्रकारहरुले विरोध प्रर्दशन गरेका छन् ।

नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश समितिको आयोजनामा हेटौंडाको बुद्ध चोकमा मानवसाङ्लो प्रर्दशन गरिएको हो ।

मानवसाङ्लो प्रर्दशनमा सहभागी पत्रकारहरुले मिडिया काउन्सिल विधेयक फिर्ता गर, प्रेस स्वतन्त्रताको सम्मान गर, पूर्ण प्रेस स्वतन्त्रता ग्यारेन्टी गर लगायतका प्लेकार्ड बोकेका थिए ।
विरोध प्रर्दशनपछि बोल्दै नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश समितिका अध्यक्ष प्रताप बिष्टले प्रेस स्वतन्त्रता बिरोधी ऐन कानूनहरु नसच्चिएसम्म संघर्ष जारी रहने जानकारी दिए ।

‘हामी सत्ताको भजन गाउँदैनौं, समाचार लेख्छौं’, उनले भने, ‘समाचार लेखेर खान समेत नपाउने अवस्था आउनु दुखद कुरा हो ।’ प्रर्दशनीमा हेटौंडाका विभिन्न सञ्चार माध्यममा आबद्ध पत्रकारहरु सहभागी थिए ।