हेटौंडा,१९ जेठः प्रचण्डले जनताको अधिकारका मुद्दाहरु त्यागेको भन्दै नेकपा माओवादी केन्द्र मकवानपुर पुर्नगठनको लागि जिल्ला भेला हुने भएको छ ।
एमाले–माओवादी मिलेर नेकपा गठन भइसकेको सन्दर्भमा पूर्व माओवादी पार्टीका असन्तुष्ट समूह यहि जेठ २५ गते जिल्ला भेलाको तयारीमा जुटेका हुन् ।
आज हेटौंडामा नेकपा माओवादी केन्द्रले पत्रकार सम्मेलनको आयोजना गरी भेला र यसको औचित्यबारे जानकारी गराएको हो । कार्यक्रममा बोल्दै भेला आयोजक समितिका संयोजक सूर्य लामाले जनयुद्धदेखि नै माओवादी केन्द्रले उठाएको उत्पीडित वर्ग समूदायको मुद्दाहरु त्यागेर एमालेमा विलय भएका आरोप लगाए । जनयुद्धका उपलब्धीहरु रक्षा र क्रान्तिको बाँकी कार्यभार पूरा गर्न माओवादी केन्द्रलाई निरन्तरता दिन लागीएको उनले बताए ।
अझैपनि पूँजीवाद र सामन्ती शासनको अन्त्य नभएकोले क्रान्तिको बाटो नसकिएको उनले स्पष्ट पारे । कार्यक्रममा जिल्ला ईन्चार्ज अमरसिहं पाख्रिन, केन्द्रीय सदस्य नारायण देउजा, विज्ञान लामा लगायतको उपस्थिति रहेको थियो ।
भेलालाई माओवादी केन्द्र ३ नम्बर प्रदेशका संयोजक पासाङ मोक्तानले सम्बोधन गर्ने जनाईएको छ ।