हेटौंडा,१७ जेठः
हेटौंडा अस्पतालमा कार्यरत डाक्टर बन्दना अधिकारीमाथि कार्यस्थलमा अभद्र व्यवहार गरेको भन्ने विषय सही नभएको आरोपित पक्षले जनाएको छ । आज हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले घटनाबारे स्पष्टीकरण दिएका हुन् ।
अस्पताल प्रशासनले गरेको प्रचार निराधार र हल्लामात्र भएको आरोपित पक्षको दाबी छ । आरोपित पक्षको तर्फबाट घटनाबारे स्पष्टीकरण दिँदै प्रदिप मिश्रले आफूहरुले कुनै अभद्र ब्यवहार नगरेको दाबी गरेका छन् ।
आफूहरुलाई डाक्टर अधिकारीले विरामीको अवस्थाबारे जानकारी नगराउँदा बच्चा गुमाउनु परेको पीडा समेत रहेको मिश्रले बताए । उनले मंगलबार बेलुका ८ बजेतिर आफ्नो श्रीमति कविता चापागाईंको पेट दुखेपछि अस्पताल लगेको, त्यहाँ पुगेपछि डाक्टर अधिकारीले अस्पतालमा भिडियो एक्स रे नभएको र चुरेहिल अस्पताल लैजान भनेको र आफुहरुले चुरेहिल अस्पताल लगेको बताए । त्यहाँ पनि उपचार नभएपछि पुनः हेटौंडा अस्पताल फर्केको र डाक्टर अधिकारीले किन अहिलेसम्म चुरेहिल अस्पताल नलगेको? भन्दै कराएपछि आफ्नो बुबाले सम्झाउन खोजेको मिश्रले बताए ।
उनको श्रीमतिलाई अचानक थप समस्या भएपछि उनले सीधै भरतपुर रेफर गरेको आरोपित पक्षको भनाई छ । घटनाको पूर्ण जानकारी लिन चाहने हो भने त्यहाँको सिसिटिभीको फुटेज हेर्न पनि सकिने उनले बताए । आफूहरु पीडामा परेको र डाक्टरको आरोपले थप पीडाको महशुस भएको मिश्रले बताए । घटनाबारे आफूहरुले जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र दिएको भन्दै उनले घटनाको सत्यतथ्य पत्ता लगाउन आग्रह गरे ।