हेटौंडा,१६ जेठः
हेटौंडा अस्पतालमा कार्यरत डाक्टरमाथि कार्यस्थलमै हातपात भएको भन्दै अस्पतालका कर्मचारीहरु आन्दोलित भएका छन् । मंगलबार राती ८ बजे इमर्जेन्सीमा काम गर्ने क्रममा डाक्टर बन्दना अधिकारीलाई सेवाग्राहीले हातपात तथा दुव्र्यवहार गरेपछि पीडित डाक्टरको न्यायका लागि अस्पतालमा कार्यरत डाक्टरहरु आन्दोलित बनेका हुन् ।

आफ्नो बिरामी बुहारीको उपचारका लागि अस्पताल पुगेका हेटौंडा कमानेका परमानन्द मिश्रले हातपात गरेकाले उनीमाथि कारबाही हुनुपर्ने डाक्टरहरुको अडान छ ।
बुहारी विरामी भएपछि अस्पताल गएका उनले डाक्टरलाई एकाएक कुर्सी उचालेर प्रहार गरेको तथा हातले समेत हान्ने प्रयत्न गरेको पीडित डाक्टर अधिकारीले बताईन् । आज अस्पताल परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी अस्पताल प्रशासनले अधिकारीमाथि भएको हातपातको भत्र्सना गरेको छ । साथै दोषी माथि कारबाहीको माग समेत गरिएको छ ।

उनको २० वर्षीया बुहारी कविता चौलागाईंलाई उपचार गराउन अस्पताल पुगेका उनले डाक्टरलाई हातपात गरेपछि अस्पतालमा काम गर्ने वातावरण नभएको भन्दै डाक्टरहरु त्रसित भएका छन् । साथै अस्पतालमा काम गर्ने वातावरण सृजना गर्नका लागि दोषीमाथि कारबाही हुनुपर्ने भन्दै डाक्टरहरुले आजबाट चणवद्ध आन्दोलन समेत थालेका छन् ।

धेरै रगत बगिसकेको कारण आफुले भिडियो एक्सरे गराउनु पर्ने र त्यो अहिले हेटौंडा अस्पतालमा नरहेको भन्ने वित्तिकै मिश्रले एक्कासी कुर्सी उचालेर प्रहार गरेको डाक्टर अधिकारीको आरोप छ । त्यतिमात्र नभई उनले डाक्टर अधिकारीलाई मुक्का पनि प्रहार गरेको तर आफूले छलेको कारण चोट भने लाग्न नपाएको डाक्टर अधिकारीले बताइन् ।

घटनापछि उनीहरुले विरामीलाई अस्पतालबाट लगेको र केश फिर्ता लिनुपर्यो भन्दै दवाव दिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । मुद्दा फिर्ता लिनका लागि केही व्यक्तिहरु धम्काउने शैलीमा अस्पतालमा आएको अस्पतालका मेडिकल सुपरिटेन्डन डाक्टर प्रविण श्रेष्ठले बताए ।

डाक्टर अधिकारीको पक्षमा न्यायका लागि अस्पताल प्रशानस लागेको छ । यस्ता घटनाले गर्दा अस्पतालमा काम गर्ने मान्छे पाउन गाह्रो भएको हेटौंडा अस्पतालका बालरोग विशेषज्ञ डाक्टर हरिबहादुर खड्काले बताए । अस्पतालमा पटक पटक यस्ता घटना हुने गरेकोले दोषीमाथि कडाभन्दा कडा कारबाही हुनुपर्ने अस्पतालमा कार्यरत कर्मचारीहरुले बताएका छन् ।