जेठ १४
रोजगारीका लागि मानिसहरु कत्तिको भौतारिएका छन् भन्ने बारे रोजगारीका लागि लाग्ने लाइनले बताउँछ ।
हेटौंडामा रहेको औद्योगिक क्षेत्रमा सञ्चालनमा आउन लागेको एक कम्पनीका लागि गत आईतबारदेखि खुलेकोमा आवेदन दिनेको भीड लागेको छ । युनिलिभर, एसियन पेन्ट्स, बर्जर पेन्ट्स, अल्कोवा सीएसआई जस्ता बहुराष्ट्रिय कम्पनी रहेको हेटौंडामा खजुरी बिस्कुट प्रालि पनि बहुराष्ट्रिय कम्पनी नै भएको थाहा पाएपछि उद्योगमा रोजगारीको लागि आवेदन दिनेको भीड लागेको छ । आईतबार खुलेर सोमबार विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका कारण बन्द रह्यो । आज मंगलबार बिहान ८ बजेदेखि फारम बुझ्ने र १० बजेदेखि फारम वितरण गर्ने भनिएपनि बिहान ५ बजेदेखि नै लाइनमा सर्वसाधारण थिए ।
आज साँझसम्म ४ हजारभन्दा बढीको आवेदन संकलन हुने अनुमान गरिएको छ । आइतबारबाट आवेदन फारम वितरण गरेको उद्योगले पहिलो दिन बिहान १० बजेदेखि साँझ ६ बजेसम्ममा २ हजार आवेदन फारम वितरण गरिएको उद्योगका प्रबन्धक अर्जुनलाल जोशीले जानकारी दिए । आगामी असार महिनादेखि उत्पादन शुरु गर्ने तयारी गरेको उद्योेगले पहिलो चरणमा एक सय कामदार नियुक्त गर्ने तयारी गरेको छ । उद्योगमा महिला कामदारलाई प्राथमिकता दिइने बताइएको छ । रोजगारी कै लागि फर्म भर्नेहरुको भिड नियन्त्रण गर्नको लागि प्रहरीसमेत परिचालन गर्नु परेको थियो ।