हेटौंडा,१३ जेठः
नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय हेटौंडा अन्तर्गत रहेको विद्युत वितरण केन्द्र कलैयाले विद्युत महसुल नतिर्नेलाई कारबाही गरेको छ । चालु आर्थिक वर्ष २०७४÷०७५ को बैशाखसम्ममा विद्युत चुहावट गर्ने ९३१ जनालाई कारबाही गरेको हो ।
कारबाही वापत सो केन्द्रले १ करोड १४ लाख रुपैयाँ असुल समेत गरेको जनाएको छ । साथै प्राधिकरणले लामो समयदेखि विद्युत महसुल बक्यौता नतिर्ने ४३० ग्राहकको विद्युत लाईन काटेर रु. ३ करोड असुल गरेको छ ।
त्यसैगरी सो कार्यालयले बाराको कलैया वितरण केन्द्र अन्तर्गत सञ्चालित औद्योगिक प्रतिष्ठानसँग बाँकी रहेको रु. २ करोड ८४ लाख महसुल उठाउने प्रक्रिया अगाडी बढाएको छ ।
केन्द्रका प्रमुख गजेन्द्र चौधरीका अनुसार सो केन्द्र अन्तर्गतको ग्रामीण क्षेत्रमा विद्युत चोरी व्यापक हुने गरेको छ, र त्यसको नियन्त्रण प्रक्रिया पनि अगाडी बढाइएको छ ।
सो जिल्लामा गैर कानूनी रुपमा हुकिङ लगायत अन्य प्राविधिक कारणबाट ४५ देखि ५० प्रतिशतसम्म विद्युत चुहावट हुँदै आएको छ ।
जिल्लाको सिम्रनगढ, पिपरपाती, पचरौता, बेलौनी, पचुरवा, रामनगर, लक्ष्मणवा, तेलगाईं लगायतका ग्रामीण क्षेत्रमा व्यापक रुपमा विद्युत चुहावट हुने गरेको प्राधिकरणका कर्मचारीहरु बताउँछन् ।
सो वितरण केन्द्र अन्तर्गत ५७ हजार ८ सय विद्युत मिटर जडान गर्ने ग्राहक रहेका छन् । सो कार्यालयको हालसम्म ५७ करोडभन्दा बढी महसुल उठ्न बाँकी रहेको बताइएको छ ।