सांकेतिक तस्वीर

हेटौंडा,१३ जेठः
मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३, कोगटेस्थित सडकमा गुडिरहेको ट्रकले हाइटेन्सन लाईनमा छुँदा ट्रकमा सवार ४ जनालाई करेन्ट लागेको छ ।
घटनामा दुईजनाको मृत्यु भएको छ, भने २ जना घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ईन्द्रसरोबर गाउँपालिका–३, स्थित कोगटेमा बागमती हाईड्रोपावरका लागि विद्युतीय सामग्रीहरु बोकेर आयोजनास्थलतिर जाँदै गरेको ना. ४ ख ९३२६ नम्बरको ट्रकले हाईटेन्सन लाईनमा छुँदा करेन्ट लागेको हो ।

मृत्यु हुनेमा सिन्धुलीको पाटन गाउँपालिका–९, आमबोटेका बीर बहादुर मगर र नुवाकोट बेलकोटगढी गाउँपालिका मझुवाका ३५ वर्षीय विशाल तामाङ रहेका छन् ।

सिन्धुलीको पाटन गाउँपालिका–९, आमबोटका गोपाल रामुली घाईते छन् । अर्का एकजना घाईतेको पहिचान हुन सकेको छैन । घाईते दुबै जनालाई उपचारका लागि काठमाडौं पठाएको प्रहरीले जनाएको छ ।