हेटौंडाः चितवन भरतपुरकी सात बर्षीया दिबिसा बिक ब्लड क्यान्सर र बोन म्यारो क्यान्सर जस्तो डरलाग्दो रोगबाट पीडित छन् ।

उनको उपचारका लागि देश बिदेशबाट सहयोगीहरु जुटेका छन् । सामान्य आर्थिक अवस्था भएको परिवारकी उनलाई यस्तो समस्या देखिएपछि आर्थिक सहयोगको जरुरी परेको हो । उनको उपचारको विदेशमा रहेका नेपाली एवम् देश विदेशबाट सहयोग जुट्दै गरेको छ ।

दिबिसाको उपचारको लागि ज्ञानेन्द्र विष्ट, राजकुमार विश्वकर्मा, मोहनसिंह महरा, माया परियार, बाबुराम लोहार, दिपेन्द्र सिलवाल लगायतबाट सहयोग जुटेको उनका परिवारजनले जनाएका हुन् ।
चितवन भरतपुर महानगरपालिका वडा नम्बर–२४ धुर्बनगरका दिपक बि.क. र सरिता कुमारि बि.क.की छोरी उनी हाल नयादिल्लीस्थित एम्स अस्पतालमा उपचाररत छिन् । हाल उनको स्वास्थ्यमा सामान्य सुधार आएको पारीवारिक स्रोतले जनाएको छ ।

केही समय नेपाल क्यान्सर अस्पतालमा उपचार गराई यहाँ उपचार असम्भव भएपछि उनलाई दिल्ली लगिएको हो । डाक्टरको सल्लाह अनुसार उनलाई भारतमा उपचार गराउन लगिएको परिवार स्रोतले जनाएको छ । दिबिसाका बाबु कतारमा कार्यरत छन् ।

परदेशमा सामान्य काम गरेर जीविकोपार्जन गरेको उनको परिवारमा छोरी बिरामी भएपछि ठूलो समस्या परेको छ । उपचार महङ्गो अनि भयानक रोगलाई जितेर नयाँ जीवनको लागि संघर्ष गर्दै गरेकी जिबिसाको नयाँ जीवनका लागि विभिन्न व्यक्ति तथा संस्थाबाट सहयोग जुट्दै गरेको छ । लामो समयसम्म उपचार गर्नुपर्ने र महंगो हुने भएकोले उनको परिवारले सहयोगका लागि आग्रह गरेका छन् ।

रिपोर्ट अनुसार उनलाई एएमएल क्यान्सर भएको छ र ६ देखि ९ महिनासम्म उपचार गर्नुपर्ने हुन्छ । जसका लागि डाक्टरले बोलाएको समयमा फलोअपमा जानुपर्ने हुन्छ ।
उनको उपचारका लागि अझ पनि तपाईं हाम्रो हात अनि साथको जरुरी छ । सहयोगका लागि उनका परिवारले अनुरोध गरेको छन् ।

सहयोगका लागि नेपालमा दिबिसाको काका प्रेम बि.क. ९८११०८४००७ (फेसबुकमा Prins Prem)सँग जोडिन सकिन्छ ।