हेटौंडा,१ जेठः मिडिया काउन्सील विधेयकको बिरोध गर्दै नेपाल पत्रकार महासंघ, मकवानपुरले सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
हेटौंडा,४ स्थित महासंघको सभाहलमा आज भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेशका अध्यक्ष प्रताप विष्टले सरकारले पत्रकारलाई बन्देज लगाउने कानुन निर्माण गर्न खोज्नु लोकतन्त्रमाथिको प्रहार भएको बताए । उनले सरकारले पत्रकारहरुलाई अंकुश लगाउन नहुने धारणा राखे ।

सञ्चार क्षेत्रमा भएका नराम्रा कुराहरुलाई निस्तेज गर्ने नाउँमा सबै पत्रकारलाई असर पार्नेखालको काम गर्न नहुने उनको तर्क थियो । नराम्रो काम गर्नेहरु कानुनी दायरामा आउनुपर्ने र यसलाई पत्रकारहरुको सस्थाले समेत सहयोग गर्ने विष्टले बताए ।

नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरी हुँमगाईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्षहरु नवराज शर्मा, कौशल पाण्डे, राममणि दाहाल, भानुभक्त आचार्य, महासंघ कार्यसमितिका सदस्यहरु तथा विभिन्न सञ्चार गृहमा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।

महासंघ, केन्द्रको कार्यक्रम बमोजिम जिल्लामा आन्दोलनका कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन हुने महासंघले जनाएको छ । आन्दोलनका कार्यक्रम अन्तर्गत जिल्लाका पत्रकारहरुले आज आफ्नो कार्यक्षेत्रमा कालोपट्टी बाँधेर काम गरेका छन् ।
यसैगरी सोही विषयलाई लिएर प्रेस युनियन मकवानपुर शाखाले पनि आज अन्तरक्रिया कार्यक्रम गरेको छ ।