हेटौंडा,३१ वैशाखः नेपाल सरकारले संससमा दर्ता गराएको मिडिया काउन्सिल विद्येयक र संसदमा ल्याउने तयारी गरेको आमसञ्चार विद्येयकको विरोध गर्दै नेपाल प्रेस युनियन, मकवानपुरले आज ज्ञापन पत्र बुझाएको छ ।
विधेयकको बिरुद्धमा युनियनले सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापनपत्र बुझाएको हो । युनियनको केन्द्रीय सर्कुलर अनुसार देशैभरका शाखाहरुले आज ज्ञापन पत्र बुझाएका हुन् ।
प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी (पोष्टराज)ले सहायक प्रजिअ चिरन्जीवी शर्मालाई ज्ञापनपत्र बुझाएका थिए । पत्र बुझेपछि शर्माले आफूले सकुसल सम्बन्धित व्यक्तिकहाँ पुर्याउने बचन दिएका अध्यक्ष अधिकारीले बताए ।
प्रेस युनियन मकवानपुरले आजै सञ्चारमन्त्री गोकुल बाँस्कोटाको कार्यक्रम बहिस्कार गर्ने निर्णय पनि गरेको छ । मन्त्री बाँस्कोटाले आज ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा डाटा सेन्टरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।