बैशाख ३०
मुम्बई इन्डियन्सले १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा साविकको विजेता चेन्नई सुपर किङ्सलाई १ रनले पराजित गर्दै मुम्बईले उपाधि जितेको हो । हैदरावादस्थित राजिब गान्धी क्रिकेट स्टेडियममा मुम्बईले दिएको १५० रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभर ७ विकेट गुमाएर १४८ रन मात्र बनाउन सक्यो । चेन्नईका लागि सेन वाट्सनले ८० रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।


यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो । मुम्बईका लागि केइरन पोलार्डले सर्वाधिक ४१ रन जोडे । यस्तै क्विनटन डी ककले २९ तथा इशान किशनले २३ रन बनाए । चेन्नईका दिपक चाहरले ३ विकेट लिए । यस्तै इमरान ताहिर र सार्दुल ठाकुरले २÷२ विकेट लिए । प्रतियोगितामा मुम्बईले पहिलो क्वालिफायरमा चेन्नईलाई ६ विकेटले हराएर फाइनल यात्रा तय गरेको थियो । यता, चेन्नईले दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ४ विकेटले नै हराएर मुम्बईसंगको भेट पक्का गरेको थियो ।