हेटौंडा,२९ वैशाखः आज मे १२ तारिख अर्थात्, अन्तर्राष्ट्रिय नर्सिङ दिवस । मकवानपुरमा पनि विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइएको छ ।

आधुनिक नर्सिङका संस्थापक फ्लोरेन्स नाइटिङ्गलको जन्मदिनको अवसर पारेर
अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिलको आह्वानमा हरेक वर्ष मे १२ तारिखमा यो दिवस मनाउने चलन छ ।


दिवसको अवसरमा मकवानपुरको हेटौंडामा नर्स तथा नर्सिङका विद्यार्थीहरुले आज र्याली, सभा र रक्तदान कार्यक्रम गरेका हुन् । विभिन्न शैक्षिक संस्थामा नर्सिङ विषय अध्ययनरत विद्यार्थी र नर्सहरु कार्यक्रममा सहभागी भएका थिए ।

नेपाल नर्सिङ संघ, मकवानपुर शाखाले आयोजना गरेको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले दिवसको शुभकामना दिएका थिए । लामो समयदेखि आफ्नो क्षेत्रमा क्रियाशील नर्सदेखि नर्स बन्ने सपना देखेर यस विषय अध्ययन गरिरहेका विद्यार्थीहरुले श्रद्धाभाव सहित संस्थापक नाइटिङ्गलको तस्वीरमा माल्यार्पण गरे ।

नेपालमा नर्स, अनमी र विदेशबाट नेपालमा काम गर्न आएका नर्स गरी झण्डै ४८ हजार ९ सय भन्दा धेरै रहेका नेपाल नर्सिङ परिषदको तथ्याङकमा उल्लेख छ । सरकारी तथा निजी स्तरमा गरी झण्डै साढे २ सय शिक्षण संस्थाबाट वार्षिक रुपमा ८ हजार भन्दा धेरै जनशक्ति उत्पादन हुने गरेका छन् ।
योग्यता अनुसार रोजगारी नपाउनु, विशेषज्ञता अनुसार पदपूर्ति हुन नसक्नु, काममा पनि विभेद हुनु जस्ता कठिनाइ अहिले भोगिरहेका मुख्य समस्या भएको नर्सहरुको गुनासो छ ।
विकसित देशमा सामान्यतया तीनजना बिरामीका लागि १ जना नर्स हुनुपर्ने प्रावधान छ । तर नेपालमा एकजना नर्सले २० देखि ३० जना भन्दा धेरै बिरामी हेर्नुपरेको तथ्यांक छ ।