हेटौंडा,२० बैशाखः नेपाल पत्रकार महासंघ, मकवानपुरका अध्यक्ष हरि हुमागाईंले आजको दिनसम्म पनि स्वतन्त्रता भन्ने चीज सरकारमा हुनेहरुमा मात्र सिमित रहेको बताएका छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा आज हेटौंडामा आयोजित प्रभातफेरीमा सहभागी सञ्चारकर्मीहरुलाई सम्बोधन गर्दै अध्यक्ष हुमागाईंले अझैपनि सर्वसाधारणले स्वतन्त्रताको महसुस गर्न नसकेको बताएका हुन् । विभिन्न नाम दिएर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई खुम्च्याइएको र पत्रकारलाई स्वतन्त्र किसिमले काम गर्ने वातावरण बन्न नसकेकोमा अध्यक्ष हुमागाईंले दुख व्यक्त गरे ।
साथै, उनले स्वतन्त्रताको पक्षमा महासंघ विगतदेखि निरन्तर संघर्ष गर्दै आएको र संघीय गणतन्त्रात्मक राज्य व्यवस्थामा समेत प्रेस स्वतन्त्रताका लागि संघर्ष गरिरहेको तथ्य संचारकर्मीहरुलाई स्मरण गराए ।

कार्यक्रममा मन्तव्य राख्दै नेपाल पत्रकार महासंघ, ३ नम्बर प्रदेश महासचिव कृष्ण सारु मगरले पनि पूर्ण प्रेस स्वतन्त्रताका लागि महासंघ निरन्तर संघर्षमा रहेको जानकारी गराएका थिए । दिवसको सन्दर्भलाई जोड्दै महासचिव मगरले स्वतन्त्र प्रेसको पक्षमा निरन्तर लाग्न समेत पत्रकारहरुमा आग्रह गरे ।

कार्यक्रममा सहभागी पत्रकारहरुलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष राममणि दाहालले अभिव्यक्ति स्वतन्त्रता नै नागरिकको ठूलो सम्पत्ति भएको बताए । साथै उनले जनताका लागि बनेको सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई कुल्चन नमिल्ने टिप्पणी पनि गरे ।

‘लोकतन्त्र र शान्तिका लागि मिडियाः इन्टरनेटको युगमा पत्रकारिता र निर्वाचन’ भन्ने नाराका साथ विश्व प्रेस स्वतन्त्रता दिवस मनाइएको हो । नेपाल पत्रकार महासंघ मकवानपुरकी उपाध्यक्ष सरिता दाहालले कार्यक्रममा सहभागीहरुलाई मन्तव्य मार्फत स्वागत गरिन् ।

कार्यक्रममा महासंघका पूर्व अध्यक्षहरु नवराज शर्मा, कौशल पाण्डे, बानका केन्द्रिय उपाध्यक्ष उज्वल चौलागाईं, स्वतन्त्र पत्रकार संघ मकवानपुरका अध्यक्ष सुरेश श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । प्रभातफेरीमा अग्रज पत्रकारहरु, पत्रकार महासंघ प्रदेश र जिल्लामा आबद्ध तथा मकवानपुर जिल्लाका विभिन्न सञ्चार गृहमा क्रियाशील पत्रकारहरुको उपस्थिति रहेको थियो ।