हेटौंडा,१९ बैशाखः बर्डफ्लूका कारण काभ्रेमा एक २१ वर्षीय युवकको मृत्यु भएको पुष्टि भएको छ । मृतकको नाम भने खुलाइएको छैन ।
आज बिहीबार स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले ती व्यक्तिको एच फाइभ एन वान (बर्ड फ्लू)का कारण मृत्यु भएको पुष्टि गर्दै ‘अप्रत्यासित घटना भएको’ बताएकी हुन् । ती युवा गत चैत १० गते ज्वरो र खोकीको लक्षण लिएर उपचारका लागि अस्पताल पुगेका थिए । उनको र्यालको परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । उनलाई चैत ११ गते नै इन्फ्लुएन्जाको औषधी दिइएको थियो ।
तर, स्वासप्रस्वासमा समस्या भई चैत १५ गते नै उनको उपचारका क्रममा मृत्यु भएको थियो । उनको मृत्युपछि प्रयोगशालामा परीक्षणका लागि पठाइएको र्यालमा कुन भाइरस हो भन्ने प्रमाणित भएको थिएन । नमुनालाई थप परीक्षणका लागि जापान पठाइएको थियो ।
नमुनाको नतीजा बैशाख १७ गते मंगलबार नेपाल आएको थियो । नमूनामा बर्ड फ्लु भएको उल्लेख थियो । प्रधानमन्त्री कार्यालयको परामर्शपछि बिहीबार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गरी घटना सार्वजनिक गरिएको हो ।
मानिसमा पनि बर्ड फ्लू भेटिएको यो नेपालमा पहिलो पटक हो । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनका अनुसार बर्ड फ्लु भनेको एभियन इन्फ्लुएन्जा टाइप ए नामक सूक्ष्म भाइरसका कारण लाग्ने प्राणघातक रोग हो ।
यस प्रकारका भाइरसले छिट्टै आफ्नो वंशाणुगत स्वरुपमा परिवर्तन गर्नसक्ने क्षमता बोकेको हुन्छ । यस क्रममा शरीरका कोषसँग समायोजन भएर नयाँ किसिमका हानिकारक जीवाणु जन्मन्छ, जुन पशुबाट मानिसमा सर्छ ।
दैनिक नेपालबाट