बैशाख ८
ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी निरिक्षक अरुण कुमार कुशवाहा सहितको टोलीले हेटौंडा उपमहानगरपालिका १५ रातोमाटेबाट लागु औषध गाँजा र नाईट्रोभेट सहित २ जनालाई पक्राउ गरेको छ । हेटौडा तर्फबाट बिरगंज जाँदैगरेको ना ५ ख३९५२ नम्बरको यात्रुवाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा ८ के.जि.लागु औषध गाँजासहित बारा प्रशौनी गाउँपालिका ५ बस्ने २२ वर्षिय पप्पु राय पक्राउ परेको हो । सोही स्थानबाटै प्रहरी निरिक्षक कुशवाहाकै टोलिले लागू औषध नाईट्रोभेट १० लेखेको ४ पत्तामा ६० ट्याबलेटसहित रुपक राईलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार २६ वर्षिय राई हेटौंडा उपमहानगरपालिका ८ कमानेको रहेको बताईएको छ । राईलाई बिरगंज तर्फबाट हेटौडा आउँदै गरेको ना.१ ज.१७३९ नम्बर को यात्रुवाहक माईक्रोलाई रोकी चेकजाँच गर्ने क्रममा प्रहरीले पक्राउ गरेको हो ।
त्यसैगरी प्राप्त सुचनाको आधारमा ३ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त टोलिले हेटौंडा उपमहानगरपालिका ९ तिनताप्केबाट कारमा ल्याउँदै गरेको अवस्थामा ८ वटा पोकामा जम्मा ४८ किलो ८०० ग्राम लागु औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । चेकजाँचको क्रममा मनहरी तर्फबाट हेटौडा आउदै गरेको ईण्डियन कारलाई रोकी चेकजाँच गर्दा भारतिय नागरिक अमरजित सिंह पक्राउ परेको हो । बिहार जिल्ला बैशाली ग्राम हसिकैवल वडा नम्बर ५ बस्ने ३२वर्षको रहेको प्हरीले जनाएको छ । तिनै जनालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।