हेटौंडा,८ बैशाखः आगामी आर्थिक वर्षको लागि कस्तो बजेट बनाउने भन्ने विषयमा जनप्रतिनिधिको सुझाव संकलन गर्दै देश दौडाहमा रहेको संघीय सांसद, प्रतिनिधिसभा अर्थ समितिको टोलीले आज हेटौंडामा पूर्व बजेट छलफल कार्यक्रम चलाएको छ ।

३ नम्बर प्रदेशको राजधानीसमेत रहेको हेटौंडामा अर्थ समितिले प्रतिनिधिसभा सदस्यहरु, प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरु, प्रदेशसभा सदस्यहरु, गाउँपालिका तथा नगरपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष लगायतको सहभागितामा छलफल चलाएको हो ।

मुलुकको समृद्धिका लागि आगामी बजेटमा कसरी काम गर्न सकिन्छ ? कस्ता योजना सञ्चालन गर्न सकिन्छ ? र हालको ऐन, कानून अनुसार काम गर्दा के समस्या छन् ? जस्ता विषयमा छलफल भएको थियो ।

कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुले प्रतिनिधिमूलक रुपमा आफ्ना क्षेत्रमा आइपरेका समस्या, सुधार गर्नुपर्ने पक्षहरु र आगामी बजेटमा प्राथमिकता दिइनुपर्ने पक्षहरु बारे जानकारी गराएका थिए । त्यस्तै, प्रश्नोत्तर विधिबाट पनि आगामी बजेटका लागि कार्यक्रमका सहभागीहरुको सुझाव संकलन गरिएको थियो ।