हेटौंडाः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लब समूहले आह्वान गरेको नेपाल बन्दको अवज्ञा गरेको भन्दै सो पार्टीका कार्यकर्ताले दुईवटा गाडीमा आगजनी गरेका छन्, भने विभिन्न ठाउँमा बम फेला परेको छ ।
मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिका तथा भीमफेदी गाउँपालिकामा विप्लब समूहका कार्यकर्ताले दुईवटा गाडीमा आगजनी गरेका हुन् । थाहा नगरपालिका–४ पानोरोमा मोडमा तीनजनाको संख्यमा आएका अज्ञात व्यक्तिले ना २ च ९०९४ नम्बरको कुखुरा बोक्ने गाडीमा आगजनी गरेका छन् । यस्तै, भीमफेदी गाउँपालिकाको वडा नम्बर–९ गोलमोडमा तरकारी बोक्ने ना ४ ख ७९६० नम्बरको मिनि ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यसैबीच हेटौंडा–८ कमानेको वडा कार्यालय अगाडी शंकास्पद अवस्थामा रहेको प्रेसर कुकर बमलाई नेपाली सेनाले डिस्पोज गरेको छ । शंकास्पद तरिकाले फेला परेको प्रेसर कुकरभित्र विस्फोटक पदार्थ भने नभएको सेनाले जनाएको छ । सर्वसाधारणलाई त्रसित पार्ने मनसायले राखिएको उक्त प्रेसर कुकर बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । बन्द आह्वान गरेको विप्लब नेतृत्वको नेकपाका कार्यकर्ताले वडा कार्यालयको गेटमा सो सामग्री राखेको प्रहरीको अनुमान छ ।
यस्तै बस्तीपुर तीनताप्केमा पनि प्रेसर कुकुर बम फेला परेको छ । बम राखेको सूचना पाएपछि प्रहरी टोली त्यसतर्फ गएको थियो । बन्द आह्वानकर्ताले नै बम राखेको हुनसक्ने प्रहरीको अनुमान छ ।
नेपाल बन्दका कारण मकवानपुर लगायत देशभरका सम्पूर्ण लामो दुरीका यातायात सेवा ठप्प भएका छन्, भने हेटौंडाको मुख्य बजारमा नियमितजसो सवारी चल्न सकेका छैनन् । यद्यपी मोटरसाईकल, अटो रिक्सा लगायत छोटो दुरीका सवारी साधन चलेका छन् । जिल्लाका सम्पूर्ण शैक्षिक संस्थाहरु, बैंक तथा वित्तिय संस्था, कलकारखाना लगायत सेवा ठप्प छन् ।
सरकारले आफ्ना कार्यकर्ता पक्राउ गरी झुटा मुद्दा लगाएको, आफ्ना कार्यकर्ता केन्द्रित अपरेशन चलाएको र प्रहरी दमन गरेको भन्दै विप्लब नेतृत्वको नेकपाले आज नेपाल बन्द आह्वान गरेको हो ।