हेटौंडाः मकवानपुरका पत्रकारहरुले आज नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको अगुवाईमा जिल्ला प्रशासन कार्यालय मकवानपुर अगाडी १ घण्टा धर्ना दिएका छन् ।

महासंघका ३ नम्बर प्रदेश अध्यक्ष प्रताप विष्ट, जिल्ला अध्यक्ष हरि हुमागाईं लगायत जिल्लामा क्रियाशील रहेका पत्रकारहरुले जिल्ला बिहान ९ः३० बजेदेखि १०ः३० बजेसम्म प्रशासन अगाडी धर्ना दिएका हुन् ।

विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटक–पटक पक्राउ गर्ने क्रम बढेकोमा उक्त दफाको खारेजीको माग राख्दै पत्रकारहरु धर्नामा बसेका थिए । महासंघले देशभर आन्दोलन गर्ने निर्णय अनुरुप मकवानपुरमा पनि धर्ना कार्यक्रम भएको हो ।

पत्रकारलाई विद्युतीय कारोबार ऐन उक्त दफा अन्तर्गत पटक–पटक पक्राउ गरी निर्वाध प्रेस स्वतन्त्रता उपभोगमा अवरोध खडा गर्दै प्रेस स्वतन्त्रतालाई निस्तेज बनाउने काम बढेपछि महासंघ आन्दोलन गर्न बाध्य भएको जनाइएको छ ।

जस अन्तर्गत हिजो विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को खारेजी एवम् पत्रकार अर्जुन गिरीसहित पक्राउ गरिएका पत्रकारको बिनाशर्त रिहाईको माग गर्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रचार प्रसार गर्ने कार्यक्रम भएको थियो । त्यस्तै आज १ घण्टा देशभरका महासंघको जिल्ला शाखामार्फत सबै जिल्ला प्रशासन कार्यालय अगााडी धर्ना बस्ने कार्यक्रम भएको हो ।

धर्नामा सहभागी पत्रकारहरुलाई सम्बोधन गर्दै महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईंले फेसबुक स्ट्याटस र अनलाईन समाचारलाई सरकारले छुट्याउन नसकेको बताए । अनलाईनमा लेखिएको समाचारलाई फेसबुक स्ट्याटस झैं मानेर कारबाही प्रक्रिया बढाएको र समाचार लेखिएकै आधारमा पत्रकारलाई पक्राउ गरिएको भन्दै अध्यक्ष हुमागाईंले तत्काल पक्राउ गरिएका पत्रकारलाई रिहाईको माग गरे ।

साथै, उनले सरकारका यस्ता हर्कत बिरुद्ध महासंघ निरन्तर रुपमा अघि बढ्ने र केन्द्रले तोकेको कार्यक्रम बमोजिम आन्दोलन अघि बढ्ने हुनाले त्यसमा साथ दिन सबै पत्रकारहरुलाई आग्रह समेत गरे ।