हेटौंडाः ठकुरी सहयोग संजालको छैटौं भेटघाटको अवसर पारेर देशभरबाट सञ्जालमा आवद्ध व्यक्तित्वहरु हेटौंडा आउने भएका छन् । चैत्र ३० गते सञ्जालको भेला प्रदेश ३ को राजधानी हेटौंडामा हुने भएको हो ।
“अनेकतामा एकता, एकतामा हार्दिकता, राष्ट्रिय एकताको लागि हाम्रो प्रतिवद्धता” भन्ने मूल नाराका साथ हेटौंडामा ठकुरी बंशहरुको भेटघाट कार्यक्रम गर्न लागेको संजालका केन्द्रीय कार्यबहाक अध्यक्ष अजय मल्ल ठकुरीले जानकारी गराए ।
आगामी शनिबार हेटौंडामा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको प्रमुख अतिथ्यतामा भेला कार्यक्रम तय भएको अध्यक्ष ठुकरीले बताए । एकता, शशक्तिकरण, व्यवसायीकरण र दिगोपनको चार खम्बे नीतिलाई अवलम्वन गरी पहिचान र सम्वृद्धि सहितको ठकुरी समुदाय, जातीय सद्भाव र धार्मिक सहिष्णुता सहितको राष्ट्रिय एकताको नीति र कार्यक्रमको साथ अघि बढ्न भेटघाट कार्यक्रम गर्न लागेको ठकुरीले बताएका थिए ।
हेटौंडामा हुने भेलाले ठकुरी र ठकुरी समुदायलाई पहिचान र सम्वृद्धि सहितको ठकुरी समुदाय निर्माणको लागि ठूलो भुमिका रहने आयोजकको दावी छ ।
कार्यक्रममा करिब एक हजार ठकुरी दाजुभाई दिदीबहिनीहरुको सहभागिता रहने बताइन्छ । पत्रकार सम्मेलनमा संजालका सल्लाहकार किशोर सिंह शाही, मकवानपुरका अध्यक्ष राधिका ठकुरी लगायत सहभागी थिए ।
सञ्जालले हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी भेलाबारे जानकारी गराइएको थियो ।