हेटौंडाः पर्यटन विकास आयोजनाले हालसम्म ११ करोड रुपैयाँ खर्च गरेको जानकारी दिएको छ ।
आयोजनामा १ अर्ब रुपैयाँ बजेट रहेकोमा हालसम्म ११ करोड रुपैयाँ मात्र खर्च गरेको आयोजना प्रमुख राजु क्षेत्रीले जानकारी गराए ।

हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी पर्यटन विकास आयोजनाले एक वर्षको अवधिमा गरेको कामको बारेमा जानकारी गराएको थियो ।
समृद्धिको आधार पर्यटन भनेर सरकारले कार्यक्रम अगाडि बढाएपनि गत असोज २२ गते मात्र कार्यालय स्थापना गर्ने निर्णय गरेको र कात्तिक १९ गतेबाट मात्र कार्यालय स्थापना भएको आयोजना प्रमुख क्षेत्रीले जानकारी दिए । सुरुको एक वर्ष कार्यालय स्थापना र कार्यालय व्यवस्थापनमा रहेको उनको भनाई छ ।


भौतिक पूर्वाधार र जिल्लास्थित कार्यालयहरु नहुनुले पनि कार्यक्रमलाई तीव्र बनाउन समस्या रहेको उनले स्पष्ट पारे । उनले भन्नुभयो, “पर्यटन क्षेत्रको विकासको लागि बजेट थियो । तर, पर्यटनको क्षेत्रमा बिना अध्ययन अनुसन्धान बजेटको सदुपयोग गर्न चुनौतिको विषय रहेको थियो । जसमा पुस २५ गते अध्ययनको लागि संशोधित बजेट आएको थियो । जसअनुसार पुस २६ गतेबाट योजना बनाउन काम सुरु गरेका थियौं ।” धार्मिक विश्वसम्पदाको पुनर्निर्माण, व्यवस्थापन गरी आन्तरिक र बाह्य पर्यटनको रुपमा विकास गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
नेपालको १० वटा राष्ट्रिय गन्तव्यको स्थान मध्ये ३ नम्बर प्रदेशमा ८ वटा गन्तव्यको स्थान रहेकोले ३ नम्बर प्रदेश पर्यटनको दृष्टिकोणबाट केन्द्रमा रहेको उनले स्पष्ट पारे । ३ नम्बर प्रदेशले पर्यटन क्षेत्रमा नेतृत्व गर्नुपर्छ भन्ने मान्यता अनुरुप प्रदेश सरकारले काम अगाडि बढाईरहेको उनले बताए ।
पर्यटन विकास आयोजनाले ३ नम्बर प्रदेशको पर्यटन विकास, प्रबद्र्धन सम्बन्धी अध्ययन अनुसन्धान गर्ने, प्रदेशको प्राकृतिक, साँस्कृतिक, धार्मिक र विश्वसम्पदाको पुनर्निर्माण, व्यवस्थापन गर्ने र स्तरोन्नति गर्ने, पर्यटकीय पदयात्रा, ग्रामीण पर्यटन प्रबद्र्धनमा होमस्टे, साहसिक पर्यटकीय खेलहरु प्रबद्र्धन र प्रचारात्मक र प्रबद्र्धनात्मक काम गर्ने उद्देश्यका साथ अघि बढेको उनले स्पष्ट पारेका छन् ।
चालु आर्थिक वर्षमा ७ करोड १८ लाख रुपैयाँ बजेटमा २४ वटा भन्दा बढी आयोजनाहरु सम्झौता भएको उनले जानकारी दिए । ढिलो कार्यालय स्थापनाले गर्दा पहिलो वर्ष जग बसाल्ने मात्र काम भएको आयोजनाको दाबी छ । अन्नपूर्ण मिडिया नेटवर्कको आयोजनामा भएको कार्यक्रममा अन्नपूर्णका जिल्ला संवाददाता कृष्ण सारु मगरको सभाध्यक्षता रहेको थियो । समृद्ध समाज दैनिकबाट