वीरगञ्ज,२३ चैत। नेपाली सेना बारा र पर्साका हुरी प्रभावितहरुका लागि अस्थायी टहरा निर्माणमा जुटेको छ। उद्दार र राहत वितरण सकिए लगतै नेपाली सेवाका जवानहरु त्रिपालको अस्थायी टहरा निर्माणमा जुटेका हुन्। वीरगञ्ज स्थित चण्डी प्रसाद गणका नेपाली सेनाका जवानहरुले पर्सा र बारा जिल्लामा गरी १ सय ५२ वटा त्रिपाल टाँगका छन्।
घरबारबिहीन परिवारलाई बस्न मिल्ने गरी सेनाले ९२ वटा पाल टाँगेको पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले जानकारी दिए। पर्सा जिल्लाको अति प्रभावित क्षेत्र जगरनाथपुरमा ४८, सुखचैनामा ३८, उदयपुरघुर्मीमा ४, बहुदरमाईमा १५ र ठोरीमा ३ वटा गरी ९२ वटा पाल टाँगिएको हो। परवानीपुर गाउँपालिका वडा नं ४ चैनपुरमा थप ६० वटा त्रिपाल टाँगिएको श्री चण्डी प्रसाद गणका गणपति श्रीजन बहादुर मल्लले जानकारी दिए।