हेटौंडा,२० चैत्रः खानेपानीको समस्या झेल्दै आएको मकवानपुरको भीमफेदी गाउँपालिका बजार क्षेत्रमा खानेपानीको व्यवस्थित वितरणको लागि पानी ट्याङ्कीको शिलान्यास गरिएको छ ।


भीमफेदी गाउँपालिका र केयर नेपाल सामुदायिक विकास संस्थाको संयुक्त पहलमा निर्माण हुन लागेको ट्याङ्कीको आज भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले शिलान्यास गरेका हुन् ।
करिब १ करोड २८ लाख लागतमा १ लाख ५० हजार लिटर क्षमता रहेको ट्याङ्कीको निर्माण हुन लागेको हो ।

परियोजनाबाट भीमफेदी गाउँपालिका वडा नम्बर –६ भीमफेदी बजार क्षेत्रको ३५० घर धुरी र भीमफेदी क्षेत्रीय कारागारका ९०० भन्दा बढी कैदीबन्दी लाभान्वित हुनेछन् । समुदायको आवश्यकता अनुसार लक्षित क्षेत्रमा बृहत खानेपानी परियोजना अनुसार काम अघि बढाईएको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिएका छन् ।