हेटौंडा,२० चैत्रः हेटौंडा–४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा कक्षा यू.के.जीमा उत्तीर्ण भएका ३४ जना विद्यार्थी दीक्षित भएका छन्। उनीहरुलाई विद्यालयले दीक्षान्तको लुगा पहिराएर र प्रमाणपत्र प्रदान गरेको थियो ।
विद्यालयका प्राथमिक तहका संयोजक तथा दीक्षान्त समारोह कार्यक्रम संयोजक सचिता पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा यू.के.जीका विद्यार्थीहरुले साँस्कृतिक नृत्य प्रस्तुत गर्नुका साथै नाटक पनि प्रस्तुत गरेका थिए ।
पहिलो पटक आयोजना गरेको दीक्षान्तलाई आगामी वर्ष पनि सञ्चालन गरिने कार्यक्रम संयोजक पाण्डेले बताइन् । ‘विद्यार्थीहरुको हरेक लेभलमा दीक्षान्त हुनु आवश्यक छ ।’ उनले भनिन्– ‘विद्यार्थीहरुको लागि यो शुरुवातको पाटो हो । त्यसैले हामीले पहिलो पटक कार्यक्रम आयोजना गरेका हौं।’ यसैगरी प्याव्सन मकवानपुरका अध्यक्ष अनिल पाण्डेले मकवानपुर जिल्लामा नवोदय विद्यालयले शिक्षा क्षेत्रमा छुट्टै छाप छोड्न सफल भएकोमा जोड दिए ।

नवोदय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरनबहादुर जोशीले घोकन्ते शिक्षालाई भन्दा प्राविधिक शिक्षालाई जोड दिनुपर्ने बताएका छन् । बाह्य शिक्षा आर्जनको लागि आफ्ना बालबालिकाहरुलाई किताब किनिदिन उनले आग्रह गरे । कक्षा यू््केजीमा अध्ययनरत विद्यार्थी विधि गोर्खालीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विद्यालयका निर्देशक दिपेश जोशी, संयोजक अव्यक्त खनाल लगायतको आतिथ्यता रहेको थियो ।