लालीगुराँस फुलिरहेका छन्। चुत्रो, काफल, घँघारु र ऐसेलु पाखाभरि । परपर सेताम्मे हिमलहर अनि वरिपरि उस्तै डाँडाहरु। निरन्तर वहने पवनको स्पर्श, त्यही पवनले फहराइरहेका दज्र्यु लुङ्दार बिच पुलकित हुने मन एकैचोटि कल्पनाको सागरमा सयर गथ्र्यो विना अनुमाती स्वेच्छाचारी ढङ्गले।

मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ मा रहेको बस्ती पुरै तामाङ समुदायको बसोबास रहेको छ। दुईवटा टोल बिकास समिति रहेकोमा डबल गोले र नारायण सिं ले नेतृत्व गरेका छन् । बिजुली, खानेपानी,शिक्षा र खेलकुदमा राम्रो ध्यान पु‍र्याउने कोशिस भएको छ । यातायातको सुविधा नभए पनि ढुवानीका लागि लिफ्ट टुइनको व्यवस्था रहेछ ।

घैराङ्गबाट ८० किलो सामान भार भए तल नामटारबाट ४० किलो भारको सामान २ मिनेटमा घैराङ्ग पुग्दोरहेछ । १६१८ खुड्किला र २५६१ मिटर पैदलमार्ग नेपाल रेडक्रस सोसाइटीले बनाएको रहेछ । यात्राका लागि त्यो पैदलमार्ग र ढुवानीका लागि लिफ्ट तुइनको भरमा आफ्ना दैनिक उपभोग्य बस्तुको परिपुर्ति र सरकारी एवं गैरसरकारी सेवा र सुविधा प्राप्त गर्नुपर्ने बाध्यात्मक अवस्था रहेछ सडक नभएको कारण ।

अब १५०० मिटर ट्रयाक खोले भिमफेदी गाउँ पालिका वडा नम्बर ९ स्यार्सेबाट कैलाश ९ घैराङ्ग जोडिने कुरा प्रष्ट रहँदा रहँदै पनि घैराङ्ग सम्म सडक पहुँच पु¥याएको वाइयात र झुठो समाचार छापेर दिउँसै रात बनाएर ढाँटेकोमा दुखेसो गर्दै थिए सचेत युवा सिङ्गाराम रुम्बा, प्रकाश थिङ र नारायण सिं गोले । आफुहरुलाई निशुल्क भनेर भनिएको भएपनि मेशीन चालकहलाई खानपिन, बसोबास र ब्रेकरको आफुहरुलाई लालपुर्जा सम्म धितो राख्न लाएर भुक्तानी लिएको र निशुल्क भनी दिएर गाउँपालिकाबाट भुक्तानी लिन समेत अप्ठ्यारोमा पारिदिएको गुनासो गरे ।

बोकर थर्प छ्योईलिङ गुम्बाले आयोजना गरेको घैराङ्ग पर्यटकीय क्षेत्रको सम्भावना अध्ययन तथा घोषणा कार्यक्रममा रहेको जनसमुदायको उत्साहजनक उपस्थिति थियो । उनीहरु अनुशासित र क्लान्त थिए । आशै आशाले चम्किरहेको आभास हुन्थ्यो चाउरि परेका र मैलिएका अनुहार देखि कलिला अनि तन्नेरीले अनुहारहरू। उस्तै तरिकाले चम्किरहेथ्थो सायद उज्ज्वल भविष्यको सुन्दर कल्पना गरेर ।

हामीलाई राम्रै स्वागत तथा सत्कार गर्नु भयो लालीगुराँसको माला लगाई दिएर । कार्यक्रम आत्मराम रुम्बाले सञ्चालन गरेका थिए । जीतमान गोलेको अध्यक्षतामा प्रमुख अतिथि मलाई कायम गरेको थियोे । गाउँ पालिका उपप्रमुख सुकुसमाया थिङ, जिल्ला समन्वय समिति सदस्य बुध्द लामा वडा अध्यक्ष सुमन लटौला, किरण मुक्तान, देव बल र नेकपा का प्रतिनिधि कमल अर्याल, जनक लोप्चन र राजेन्द्र सिन्तान लगायत उपस्थित रहेका थिए ।

वक्ताहरुले आ आफ्नो शुभकामना मन्तव्य राखे। सबै आफ्नो धारणा र प्रतिबद्दता व्यक्त गरे।
साँच्चै त्यहाँका जनताको उत्साहजनक सहभागिता र युवाहरूको सकृयता देख्दा लाग्थ्यो आयोजकले १० बर्षमा आयोजना पुरा गर्ने राखेको लक्ष्य समयमै पूरा हुन्छ।

विशुद्ध तामाङ समुदायको बसोबास रहेको घैराङ्गमा ९९५ बौद्ध धर्मावलम्बी छन् । १०५ घरधुरी रहेको गाउँमा १३०० जनसंख्या रहेको छ । राष्ट्रिय फूल लालीगुराँस सहित जटडबुटी जगेर्ना र प्राकृतिक सुरुङ र गुफाहरुको संरक्षण साथै बौद्ध स्तुपा र मूर्ति निर्माण गरि बौद्ध तिर्थस्थल एवं पर्यटकीय क्षेत्रको रुपमा विस्तार गर्ने हिसाबले काम अगाडि बढाउन स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारसँग पहल गर्ने र सबै सँग सहयोग गर्न अनुरोध गरे।

अवश्य नै त्यहाँको प्राथमिक महत्वको आवश्यक्ता नै सडक रहेको छ। यो कुरा जसरी पनि पुरा गर्नुपर्ने उत्तरदायित्व ग्रहण गर्दा नै न्यायोचित छ। यसमा सबैले हातमालो गरौं । भ्रमको पर्दाफास गरौँ ।