हेटौंडा,१६ चैत्रः भूगर्भ दोस्रो सहिद स्मृति मकवानपुर गोल्डकप–२०७५ को उपाधी आयोजक मकवानपुर ११ ले उचाल्न सफल भएको छ । आज शनिबार भएको फाइनल खेलमा क्यामरुनी टोली दाफिन्स क्लबलाई २–१ गोलले पराजित गर्दै मकवानपुर ११ प्रतियोगिताको उपाधि चुम्न सफल भएको हो ।

प्रतियोगिताको बिजेता बन्दै आयोजक मकवानपुर ११ ले नगद ८ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेता दाफिन्स फूटबल क्लबले नगद चार लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

हेटौंडास्थित बन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा सञ्चालित प्रतियोगितामा खेल सुरु भएको ६ मिनेटमा दाफिन्स क्लबले पहिलो गोल गर्न सफल भएको थियो । सो टिमका जर्सी नम्बर ३ बाट खेलेका यान्निक ओवोनाले पहिलो गोल गरेका थिए । त्यस लगत्तै आयोजक मकवानपुर ११ का जर्सी नम्बर १० बाट खेलेका योगेश गुरुङले पेनाल्टीमार्फत गोल फर्काउँदै खेललाई बराबरीमा पुर्याएका थिए ।

पहिलो हाफमा १–१ गोलको बराबरीमा रहेको खेलको ३८ औं मिनेटमा योगेश गुरुङले पुनः पेनाल्टीबाट १ गोल थप्दै आयोजक मकवानपुर–११ लाई प्रतियोगिताको उपाधी दिलाउन सफल भएका हुन् । आजको खेलमा २ गोल गर्दै योगेश गुरुङ म्यान अफ द म्याच बने ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सञ्चालित प्रतियोगितामा दश टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको समापन समारोहमा सहयोगीहरुलाई मायाको चिनो वितरण गरिएको थियो ।