हेटौंडा,१६ चैत्रः नेपाल पत्रकार महासंघको ६४ औँ स्थापना दिवसको अवसरमा मकवानपुरस्थित महासंघको हलमा पुस्तकालयको उद्घाटन गरिएको छ ।
हेटौंडा उपमहानगरपालिकाको सहयोगमा हेटौंडास्थित महासंघ भवनमा स्थापित पुस्तकालयको हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले उद्घाटन गरेका हुन् ।
नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईंको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेशका अध्यक्ष प्रताप विष्ट, जिल्ला शाखाका पूर्व अध्यक्ष भानुभक्त आचार्य, महासंघका सल्लाहकार तथा प्रेस सेन्टरकी जिल्ला अध्यक्ष नानीमैया विष्ट, प्रेस युनियनका निवर्तमान अध्यक्ष रुपेश दुलाल, स्वतन्त्र पत्रकार संघका जिल्ला अध्यक्ष सुरेश श्रेष्ठ, उपाध्यक्ष कुमार अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
वक्ताहरुले महासंघ स्थापना गरी संस्थापक एवम् पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले प्रेस स्वतन्त्रताका लागि पुर्याएको योगदानको प्रशंसा गरेका थिए । उनीहरुले संचारगृह र संचारकर्मीहरुमाथि चुनौति बढेको भन्दै यसको सामाधानका लागि सबै क्षेत्रको सहयोग रहनुपर्ने धारणा राखेका थिए । कार्यक्रममा महासंघका निर्वतमान जिल्ला उपाध्यक्ष गिरीजा अधिकारी, उपाध्यक्ष कुमार अधिकारी लगायतले पुस्तकालयलाई पुस्तक हस्तान्तरण गरेका थिए ।